‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’

काठमाडौं । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

सप्ताहव्यापीरुपमा मनाइने गरिएको दिवस यस वर्ष कोरोना महामारीका कारण प्रभातफेरी स्थगित गरिएको छ । २ गतेदेखि ६ गतेसम्म योगको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले कार्यक्रम गर्ने जनाइएको छ । ७ गते जुम प्रविधिबाट अन्तरक्रिया गरी दिवसको औपचारिक कार्यक्रम समापन गरिनेछ ।

प्रतिक्रिया