मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

|सर्वोच्च अदालत। फाइल फोटो|

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । बुधबार बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने कि संवैधानिकमा भन्नेबारे बहस भएको थियो । प्रधानन्यायाधीश जबराले शुक्रबारसम्मका लागि इजलास स्थगित भएको जानकारी गराए ।

बिहान सर्वोच्चले प्रधानन्यायाधीश जबराको नेतृत्वमा इजलास गठन गरेको थियो । जसमा सपना प्रधान मल्लबाहेक पहिलेकै न्यायाधीशहरु दोहोरिएका छन् । न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छोडेपछि प्रधानन्यायाधीश जबराले मल्ललाई राखेको हो ।

‘सिद्धान्तलाई बिर्सेर पार्टी एकता भएको थिएन, ओलीले नौटंकी देखाउनुभयो’

|नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्वीरः विकास अर्याल, मकालु खबर|

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिद्धान्तलाई बिर्सेर पार्टी एकता नभएको प्रष्ट पारेका छन् । बुधबार काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यसबारे प्रष्ट पारेका हुन् । कतिपयले एकता भएको बेला स्पष्ट नभइ एकता भएको बताउने गरेको दृष्टान्त सुनाउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘हामीले एकताका बेला सिद्धान्त, विचार अनि विधानलाई भुलेर एकता गरेका थिएनौं ।’

यस्तै अध्यक्ष दाहालले आफूहरु कमेडी गरेर जनतालाई प्रज्ञामा उपस्थित नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नौटंकी देखाएको बताउँदै अध्यक्ष दाहालले भनेका छन्, ‘ओलीले नौटंकी देखाउनुभयो । जनतालाई हसाउने काम मात्रै गरिरहनुभएको छ ।’

‘अब ओलीले कुर्सीबाट झर्नैपर्छ, ओली अब कमरेड रहेनन्’

|नेकपा नेतृ अष्टलक्ष्मी शाक्य। तस्वीरः फाइल|

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीबाट झर्नैपर्ने बताएकी छन् ।

बुधबार (आज) प्रज्ञा प्रतिष्ठानमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले यस्तो प्रतिक्रिया दिएकी हुन् । ‘ओलीसँग एकरत्ति कम्युनिष्ट सोच छैन’ सम्बोधनका क्रममा नेतृ शाक्यले भनिन्, ‘ओलीले कू गर्नुभयो । अब कुर्सीबाट झर्नैपर्छ ।’

अब ओलीलाई कमरेड भन्न नसुहाउने बताएकी नेतृ शाक्यले भनेकी छन्, ‘ओली अब कमरेड रहेनन् । उहाँसँग कम्युनिष्ट सोच भए पो कमरेड भन्न मिल्छ र ।’ यस्तै नेतृ शाक्यले ओलीले प्रतिगमणकारी कदम चालेको पनि बताएकी छ्न ।

एआइजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन
नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ ।

पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । प्रहरी प्रवक्ता कुँवरका अनुसार समितिले निर्वाचनमा चाहिने साधन, स्रोत, आर्थिक व्यवस्थापनदेखि आवश्यक सुरक्षा रणनीतिको विषयमा तयारी गर्नेछ ।

यही समितिको प्रतिवेदनको आधारमा प्रहरीले नेपाल सरकारसँग निर्वाचनका लागि अपुग साधन स्रोत माग गर्नेछ । एक सदस्यका अनुसार समितिले हाल मौजुदा जनशक्ति, साधन स्रोतको मूल्याङ्कन, व्यवस्थापन र परिचालनका काम गर्नुका साथै थप आवश्यकता पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने छ ।

कोरोनाविरुद्धको खोप किन्न सरकारले माग्यो सहयोग
कोरोनाविरूद्धको खोप खरिदका लागि सरकारले दाताहरूसँग सहयोग मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कोभिड १९ खोपका लागि खोप कोष खडा गरिएको र त्यसमा योगदान गर्न आह्वान गरेको छ ।

‘कोरोना खोप प्राथमिकताका आधारमा न्यायोजित वितरण प्रणाली मार्फत् लक्षित समूहरूलाई निस्शुल्क उपलब्ध गराउन सरकारबाट आवश्यक तयारी भइरहेको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ–‘निस्शुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएकाले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थाहरूलाई खोप कोषमा योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ ।’

कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिनेसमेत मन्त्रालयले जनाएको छ ।

ओली झुटको पुलिन्दा हुन् : नेपाल

|नेकपा अध्यक्ष माधवकुमार नेपाल। तस्वीरः विकास अर्याल, मकालु खबर|

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुटको पुलिन्दा भनेका छन् । बुधबार काठमाडौंस्थित प्रज्ञा भवनमा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘केपी ओली झुटको पुलिन्दा हुनुहुन्छ’, सम्बोधनका क्रममा भनेका छन्, ‘ओली गुटले बाँडेको भ्रममा हामी कोही पनि नफसौं ।’

ओलीले डमरु बजाउँदै केन्द्रीय सदस्य पद बाँडिरहेको बताउँदै अध्यक्ष नेपालले पार्टी नै सडकछाप बनाएको बताए । ‘हेरौँ त्यो सडकछाप पार्टीमा को को जाँदोरहेछ’ अध्यक्ष नेपालले भनेका छन्, ‘डमरु बजाउँदै ओलीले केन्द्रीय सदस्य बाँड्दै हुनुहुन्छ । पार्टी नै काम नलाग्ने बनाइसक्नुभयो ।’ यसैबीच अध्यक्ष अध्यक्ष नेपालले ओली कुनै न कुनै दिन निरीह हुने बताएका छन् ।

वरिष्ठ कृषि विकास अधिकृतसहित तीन जनाविरुद्ध ४ लाखको भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो चार लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा कायम गरी गैरकानूनी लाभ तथा हानी सम्बन्धी आरोप–पत्र दायर गरेको हो। यस्तै, आन्तरिक राजश्व कार्यालय बालाजुका एक कर्मचारी ४३ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व कार्यालय बालाजुका कम्युटर अपरेटर राजन शर्मालाई उक्त रकम बराबरको घुससहित पक्राउ गरेको हो ।

शर्मालाई टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा बनस्थलीका सञ्चालक सन्तोष थापा मगरसँग कर तिर्न सजीकरण गरिदिएबापत ४३ हजार अतिरिक्त रकम लिँदै गर्दा नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । घुस लिने शर्मासँगै घुस दिने थापालाई पनि उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा
नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो। एसएसपीमा बढुवा हुनेमा एसपी कृष्णकुमार महत, गोबिन्दकुमार साह, सिरहामा कार्यरत उमाशंकर पन्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डे, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईँटेल र मोहनप्रसाद पोख्रेल छन् ।

लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन्। ब्याचिबाट छुटेका एसपी गोबिन्दकुमार साह दास्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन्।

५ महिनामा १०१ विदेशी देश निकाला
काठमाडौं । सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ । मंसिर महिनामा मात्र २० जना विदेशीलाई निकाला गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

अमेरिकामा ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइयो
संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ ।

एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ ।

ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो । मन्टगमेरीले सन् २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् ।

अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि मृत्युदण्ड दिइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिनेगरी कार्यकारी आदेश जारी गरेका थिए ।

 

प्रतिक्रिया