व्यवस्था जोगाउन प्रतिनिधि सभा विघटन गर्नुपर्यो [भिडियोसहित]
![व्यवस्था जोगाउन प्रतिनिधि सभा विघटन गर्नुपर्यो [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/IMG_5227.jpg)
काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोबहादुर रायमाझीले व्यवस्था जोगाउनको लागि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् ।
राजनीतिक रुपमा दुई चिरा परेको नेकपा छुट्दा प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेर मन्त्री पड्काएका रायमाझीले बुधबार रिपोटर्स क्लबमा पत्रकारहरुसँग भएको साक्षात्कारमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
परिवर्तनका मुद्दाहरु गुम्ने अवस्था आइसकेपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउँदै मन्त्री रायमाझीले प्रधानमन्त्रीको कदम दूरगामी महत्वको भएको बताए । ‘यो प्रधानमन्त्रीको रहरको कुरा होइन’, पत्रकारहरुको प्रश्नको सामना गर्दै मन्त्री रायमाझीले भनेका छन्, ‘यो विवश भएर चालिएको कदम हो । प्रणाली र व्यवस्था बचाउनको लागि चालिएको कदम हो यो ।’
तीन वर्षभित्र सबै मन्त्री बनिसकेको उल्लेख गर्दैै मन्त्री रायमाझीले आफू हिँडेपछि सरकार ढाल्न खोजेको आरोप पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमारलाई लगाए । ‘तीन वर्षसम्म चाहिँ मज्जाले केपी ओली नेतृत्वको सरकारमा बस्ने । अनि आफू पनि हिँड्ने, सरकारलाई पनि ढाल्न खोज्ने ?’, मन्त्री रायमाझीले प्रश्न गरे ।
यस्तै मन्त्री रायमाझीले दाहाल–नेपाल नेतृत्वको सरकारले सडकमा ढुङ्गामुढा गरेको पनि बताएका छन् । सरकारबाट बाहिरिएसँगै सडकमा ढुङ्गामुढा गर्न थालेको बताउँदै मन्त्री रायमाझीले यो प्रतिगमणकारी कार्य रहेको औंल्याए । उनले भनेका छन्, ‘त्यसो भए सबै जनाले त्यसै गर्न थालियो भने यो देशको कानून कता जान्छ, प्रणाली कता जान्छ अनि न्याय कता जान्छ ?’
कांग्रेस चुनावसँग डराइरहको छ
मन्त्री रायमाझीले कांग्रेस चुनावमा जानको लागि डराइरहेको पनि बताए । प्रतिनिधि सभा विघटनप्रति असन्तुष्ट जनाएर सडक संघर्ष गरिरहेको कांग्रेस चुनावसँग डराइरहेको मन्त्री रायमाझीको जिकिर थियो ।
‘प्रमुख प्रतिपक्ष पनि चुनावसँग डराइरहेको छ’, पत्रकारहरुतर्फ संकेत गर्दै मन्त्री रायमाझीले भने, ‘तपाईँहरु नोट गर्नुस्, कांग्रेस पनि डराइ नै रहेको छ । चुनाव फेश गर्न तयार छैन ।’
एमसीसीलाई वारपारको विषय बनाऔं
एमसीसीलाई वार कि पारको विषय बनाउनसमेत मन्त्री रायमाझीले आग्रह गरेका छन् ।
आफू पनि लागू नै गर्नुपर्छ भन्ने पक्षमा नरहेको स्पष्ट पार्दै मन्त्री रायमाझीले भनेका छन्, ‘म पनि लागू नै गर्नुपर्छ भन्ने पक्षमा छैन । यसलाई वार कि पारको विषय भने अवश्य बनाउनुपर्छ । मैले हुबहु लागू गर्नुपर्छ भनेर भनेको पनि छैन । मेरो भनाइ यति मात्रै हो कि यसलाई यसरी अड्काएर राख्नुभन्दा कि लागू गरौँ, कि खारेज नै गरौँ भनेको मात्रै हो ।’
एमसीसीको ‘लगानी लक्ष’ ऊर्जा भएको बताउँदै मन्त्री रायमाझीले लागू भएको खण्डमा राम्रै हुने बताए । ‘मैले हुबहु लागू गरौँ भनेको छैन । किनकी, यसले ऊर्जा क्षेत्रमा लगानी गर्छ । वारपार चाहिँ गरौँ । विवाद सिर्जना गर्नको लागि मैले भनेको होइन’, मन्त्री रायमाझीले भनेका छन् ।








