‘देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न, मलाई आश्चर्य लागेको छ’ [भिडिओसहित]

काठमाडौैैैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापनाको लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताएकी छन् ।

बुधबार रिपोटर्स क्लबमा पत्रकारहरुसँग भएको साक्षात्कारमा नेतृ कोइरालाले यस्तो बताएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कुल्चेर प्रतिनिधि सभा विघटन गरेको औंल्याउँदै नेतृ कोइरालाले भनिन्, ‘प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ । जसको लागि हामी सबै दल एक ठाउँमा उभिनुपर्छ ।’

प्रतिनिधि सभा विघटन भएपछि कम्युनिष्टहरुले पहिलेको जस्तै फेरि धेरै भाषण छाँट्न थालेको बताउँदै नेतृ कोइरालाले ७४ सालको चुनाव पनि भाषणकै कारण जितेको दाबी गरिन् । ‘जब प्रतिनिधि सभा विघटन भयो’, नेतृ कोइरालाले भनिन्, ‘बढी नै भाषण सुन्न थालिएको छ । कम्युनिष्टले कामभन्दा धेरै भाषण सुनाउने गरेका छन् । हिजोको चुनाव पनि यही भाषणले नै जितेको हो ।’

यस्तै पत्रकारहरुको प्रश्नको सामना गर्दै नेतृ कोइरालाले कांग्रेस चुनावमा जान नडराउने बताइन् । उनले भनिन्, ‘कांग्रेस चुनावबाट डराउँदैन । आजसम्म डराएको पनि छैन । डराएर हुँदैन पनि । कांग्रेसले मात्रै देश, जनता र विकासका लागि पुनः प्रतिनिधि सभाको पुनर्स्थापना चाहेको हो ।’

यसैबीच नेतृ कोइरालाले कम्युनिष्टहरुको आन्तरिक झगडाका कारण देश यस्तो अवस्थाबाट बताइन् ।

ओलीको बाटोमा नलाग्न सभापतिलाई सुझाव
यसैबीच नेतृ कोइरालाले आफ्नो सभापति शेरबहादुर देउवालाई ओली पथमा नलाग्न सुझाव दिएकी छन् ।

ओली पथमा लागे रक्तपात हुने चेतावनी दिँदै नेतृ कोइरालाले भनिन्, ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ, मलाई आश्चार्य लागेको छ । रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ । तर, आफैँले ल्याएको संविधान र संसद्को विपक्षमा किन बोलिराख्नुभएको छ । त्यो गलत हो ।’

प्रतिक्रिया