कालिकामा दुई कार्यविधि र एक ऐन पारित

चितवन । चितवनको कालिका नगरपालिकाको सातौँ नगर सभा बुधवार सुरु भएको छ । नगर सभाले दुई वटा कार्यविधि र एउटा ऐन पारित गरेको छ । वन ऐन २०७७ तथा लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि २०७७ र प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०७७ नगर सभाले पारित गरेको हो ।

नगर सभामा नगर प्रमुख खुमनारायण श्रेष्ठ गोपीले ति कार्यविधि र ऐन सभा समक्ष पेश गरेका थिए । ति कार्यविधि र ऐनमा छलफल पश्चात पारित भएको प्रमुख श्रेष्ठले बताए । वन ऐन अनुसार अब पारिवारिक निजी वन दर्ता गर्न पाइनेछ । जसलाई स्थानीय सरकारले दर्ता प्रमाणपत्र दिन सक्ने उल्लेख छ । ऐनले सो वन भित्र काठ कटानी र ओसारपोसार स्थानीय सरकारबाट अनुमति लिएर मुलुकको जुनसुकै भागमा लगेर बिक्री गर्न सक्ने तोेकेको छ ।

वडागत योजनाहरु संसोधन गर्नका लागि भने माघ ७ गते सम्मको समय दिइएको छ । सभामा नगर सदस्यहरुले बाटो निर्माण,भवन निर्माणका काम करिब सकिएको भन्दै अब फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । जवाफमा नगर प्रमुख श्रेष्ठले फोहोर संकलन र व्यवस्थापनका लागि कार्यविधि तयार भईसकेकाले जिल्ला र केन्द्रको अनुमति कुरिरहेको बताए ।

प्रतिक्रिया