मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

हिंसाअघिका आफ्ना कुरा जायज भएकाे ट्रम्पकाे दाबी

राजधानीमा आपतकाल घाेषणा

काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमण अघिकाे आफूले राखेका हरेक कुरा जायज भएकाे दाबी गरेका छन् ।

गएकाे बुधबार आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि भाषण गरेका ट्रम्पले आफूविरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि आफ्नाे सम्बाेधन जायज भएकाे दाबी गरेका हुन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण गरिएको पर्खाल अवलोकनका लागि टेक्सस जाने क्रममा ट्रम्पले ह्वाइटहाउसमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दि‌दै आफू हिंसाको पक्षमा भने नरहेको बताए । तर उनकै सहयोगी, रिपब्लिकन नेताहरुसहितले ट्रम्पको भाषण हिंसाका लागि उक्साउने खालको रहेको भन्दै निन्दा गरेका थिए ।

ट्रम्पले सो भाषणका क्रममा आफ्ना समर्थकलाई संसद भवनमा जान उक्साएका थिए । उनकाे भाषणपछि संसद भवनमा हिंसात्मक आक्रमण सुरु भएको थियो । हिंसामा परी एक प्रहरी अधिकारीसहित पाँचजनाको मृत्यु भएकाे थियाे ।

यद्यपी हिंसाकै बीच अमेरिकाकाे दुवै सदनले जाे बाइडेनकाे जित भएकाे घाेषणा गरिसकेकाे छ । साथै हिंसामा संलग्नमध्ये १७० जना पहिचान भइसकेकाे छ । त्यहाँको गुप्तचर निकाय एफबीआईका अनुसार पहिचान भएका मध्ये ७० जनाविरुद्ध मुद्दा समेत दर्ता गरिसकिएको छ । संसदमा भएको आक्रमणमा संलग्नलाई आत्मसमर्पण गर्न समेत एफबीआईले चेतावनी दिएकाे छ ।

यस्तै आज राष्ट्रपति ट्रम्पविरुद्ध पेस भएकाे महाअभियोग प्रस्ताव मतदान हुँदैछ । ट्रम्पले भने सो कार्य हाँस्यास्पद भन्दै खारेज गरेका छन् । उनी जनवरी २० मा सत्ताबाट बाहिरिँदै छन् । उनी बाहरिएकै दिन जाे बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

उता ट्रम्पले आफूमाथि सुरक्षाको खतरा बढेकाे भन्दै राजधानी वासिङटन डिसीमा जनवरी ११ देखि २४ सम्मका लागि आपतकाल घोषणा गरेका छन् । ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह प्रभावित हुने आँकलन गरिएको छ ।

प्रतिकृयाहरु
Loading...