सहकार्य गर्दै चुनौती पन्छाउँछु : खेलकुदमन्त्री तामाङ

काठमाडाैं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छाउने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालहरु सँग सहकार्य गर्दै पन्छाउने छु । समयस्याका बारेमा चाँडै नै छलफल गर्छु’, मन्त्री तामाङले भने ।

यस्तै राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलकुद र खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गरे भने खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नु पर्नेमा जोड दिए ।

राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद मन्त्रालयले उपयुक्त मन्त्री पाएको धारणा व्यक्त गर्दै व्यवस्थापन, पदक, प्रदर्शन र पूर्वाधारका हिसाबले १३ औं दक्षिण एसियाली खेलकुद उत्कृष्ट रहेको जानकारी गराए ।

सदस्य–सचिव सिलवालले नयाँ ऐन अनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नु पर्ने आवश्यकता औंल्याउँदै चालू आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा वृद्धिका लागि पहल गरिदिन मन्त्री तामाङ समक्ष आग्रह गरे । यस्तै उनले कोभिड– १९ का कारण नवौं राष्ट्रिय खेलकुद सार्नु परेको बताए

कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पनि गरेका थिए ।

प्रतिक्रिया