समतादेखि आइग्लोनसम्मको यात्रा !

काठमाडौं । सायद समता मात्रै एउटा त्यस्तो शैक्षिक संस्था होला, जुन स्थापनाकालदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाइरहेको छ । स्थापना कालमै नेपालकै सबैभन्दा सस्तो स्कूलको संज्ञा पाएको यो स्कूल कहिले एसईई परीक्षामा आएको राम्रो नतिजाका कारण चर्चामा आउने गर्छ त कहिले विद्यार्थी डाक्टर बनाएर चर्चा बटुल्छ ।

त्यसो त समताले कहिले आफ्ना विद्यार्थीहरुलाई आफ्नो गच्छेअनुसार विभिन्न खालका सहयोग गरेर पनि चर्चामा आउँछ । यसको पछिल्लो उदाहरण हो, सैद्धान्तिक शिक्षालाई व्यावहारिक शिक्षातर्फ सोझ्याउनको स्कूलले बाँडेको चल्ला । यस्तै धेरै कल्याणकारी काम गरेको छ समताले । यहाँ केही प्रतिनिधि काम मात्रै उल्लेख गरिएको हो । समताले पाएको राष्ट्रिय सम्मानहरुको बारेमा त प्रायःजसो हामी अवगत नै छौँ ।

त्यसो त फेरि एकपटक चर्चामा आएको छ समता । मूलधारका सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालहरुमा छाइरहेको छ । कारण यही होकि, त्यहीँ काठमाडौंको कुमारीगालस्थित समता निकेतनमा पढ्ने एक छात्रा अस्मिता अधिकारीले स्वीट्जरल्याण्डको आइग्लोन कलेजसम्मको यात्रा तय गरिन् । आइग्लोन विश्वकै महँगामध्येमा गनिने कलेज हो । जहाँ अहिलेसम्म डा. उपेन्द्र महतका दुई छोरीले मात्रै पढेका छन् ।

हिजोका दिनसम्म वर्षको १२ सयमा पढ्ने अस्मिताले अब पूर्ण छात्रबृत्तिमा पढ्नेछिन् वर्षकै १ करोड तितेर ।

सामान्य परिवारमा हुर्किएकी अस्मिता अधिकारी चितवनमा जन्मेकी हुन् । पढाइको शिलशिलामा परिवारसँग काठमाडौंको बौद्धमा बस्दै आएकी अस्मिताको पारिवारिक स्थिती नाजुक नै थियो ।

‘जब मेरो अनि दिदीको पढाइ माथि–माथि बढ्दै गयो, तब परिवारलाई आर्थिक दबाब पनि बढ्दै नै गयो’, अस्मिताले भनिन्, ‘सोही आर्थिक समस्याको समाधान बन्यो समता ।’

उनका अभिभावकले घर नजिकै राम्रो स्कूल खोज्ने क्रममा समता शिक्षा निकेतन भेटाएछन् । अनि उनको माग्यमा जुर्यो, समता निकेतन । त्यसपछि उनले पढ्ने भइन् समता नै । अस्मिताले समतामा कक्षा ६ बाट आरम्भ गरेकी हुन् ।

समताको आफ्ना पुराना दिन सम्झँदै अस्मिता भन्छिन्, ‘१/२ वर्ष त आफूलाई साथीहरुमाझ घुलमिल गराउनै लाग्यो । पछिपछि भने वातावरण सहज बन्दै गयो । सहयोगी साथीहरु र गुरुहरुको मन जित्दै गएँ । स्कूलमा हुने विभिन्न प्रतियोगीतामा आफूलाई निखार्दै गएँ ।’ संगीत र वाककलामा विशेष रुची राख्ने आधिकारी भविष्यमा कानून विषय लिएर आफ्नो पढाइलाई अगाडि बढाउने इच्छा राख्छिन् ।

छात्रवृत्तिको लागि आफू छनौट हुन्छु भन्ने खासै विश्वास नलागेको सुनाउँछिन् अस्मिता । ‘कतिको विश्वास थियो ?’ भन्ने प्रश्नमा अस्मिताको जवाफ थियो, ‘कहाँ हामीसँग त सामान्य कुराकानी मात्र गर्नुभएको थियो । विश्वास थिएन ।’ कुराकानीमा आइग्लोन कलेजका कार्यकारी निर्देशक रिर्चाड एमसी डोनालले आफ्नो सामान्य परिचय र पारिवारिक स्तिथी मात्र बुझेको अस्मिताले बताइन् ।

गैरआवसीय नेपाली संघका संस्थापक तथा समताका संरक्षक डा.उपेन्द्र महतमार्फत् समता शिक्षा निकेतन भम्रण गर्न आएका डोनालले उक्त छात्राबृत्ति सहयोग गरेका छन् । उक्त छात्रबृत्ति प्रत्येक वर्ष समताको १ छात्र/छात्रालाई प्रदान गरिनेसम्मको कुरा भ्रमणको क्रममा भएको समताका संस्थापक उत्तम सञ्जेलले बताए ।

आफ्नो स्कूलको आफैँले पढाएको विद्यार्थी यसरी देशकै नाम राख्ने गरी पढ्न जान लागेकोमा समताका प्रधानाध्यापक अजय अधिकारी ‘सुशिल’ लाई खुशी लागेको छ । भन्छन्, “अहिले विद्यार्थीमा एक प्रकारको नयाँ जोश छाएको छ । आफूलाई गर्व लागिरहेको छ । उनी (अस्मिता) एक उदाहरणीय बनेकी छन् ।”

अस्मिता गत १० तारिखका दिन आइग्लोनको यात्रामा निस्केकी छन् । योसँगै अब अस्मिता नै नेपालको पहिलो साधारण विद्यार्थी हुनेछन्, जसले आइग्लोनमा पढ्छ ।

अन्तमा छुटिने बेला भयो, आफ्नो देश फर्किने की नफर्कीने भन्ने प्रश्नमा अस्मिता बोलिनन् । वश् ! यति भनिन्, ‘आफ्नो भनेको आफ्नै हुन्छ । म त्यहाँ पढ्नको लागि मात्र जानेछु र आएर यही केही गर्नेछु ।’

मलाई भने लाग्यो– समताको बिउ हुन् अस्मिता अधिकारी । अखिर जरा त यहीँ नै छ । समता अर्थात् नेपाल । मनमा भने लाग्यो, जननी, जन्मभुमिस्च स्वर्गदपी गरियसी !

प्रतिक्रिया