प्रदेशगत बृहत् कार्यकर्ता भेला गर्दै दाहाल–नेपाल समूह, शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले मंगलबार तीन प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्ने भएको छ । समूहले प्रदेश नं. २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्ने भएको हो ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आवाज उठाउने गरी भेला गर्न लागिएको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेशकी संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । ‘कार्यकर्ता भेला गर्नेपर्ने हो अहिले’, मकालु खबरसँगको कुराकानीको क्रममा शाक्यले भनिन्, ‘यो अहिलेको आवश्यक्ता पनि हो ।’

भेलालाई सम्बोधन गर्नको लागि केन्द्रबाट शीर्ष नेताहरु प्रदेशमा जाने कार्यक्रम रहेको छ । गण्डकीको भेलालाई दाहाल–नेपालसँगै नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सम्बोधन गर्ने दाहालका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ले बताए ।

दाहाल–नेपाल समूहले सोमबार नै प्रदेश नं. १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरिसकेको छ ।

गत ५ पुषमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि अहिले दुवै नेकपाले आ–आफ्नै शैलीमा सभा, सम्मेलन तथा भेला गरिरहेको छ । ओलीले पछिल्लो पटक धनगढी पुगेर आफू निकटका बृहत् भेलालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया