उत्कृष्ट खेलाडी र खेलकर्मीको घोषणा आज

काठमाडौं । विभिन्न विधामा नेपालका उत्कृष्ट खेलाडी तथा खेलकर्मी घोषणा गरिने पल्सर स्पोर्टस अवार्ड आज (मंगलबार) हुँदैछ ।

१० विधामा उत्कृष्ट खेलाडी र खेलकर्मी घोषणा गरिने कार्यक्रम ललितपुरको सातदोबाटोमा रहेको कराँते हलमा दिउँसो साढे ४ बजे सुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

अवार्डका लागि २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन् ।

अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस, पारा एथलिट, स्पेसल, लाइफटाइम अचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान पनि घोषणा गरिने छ ।

वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, प्रशिक्षक, र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै, अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

भोटिङ, फेसबुक लाइक, खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुने मञ्चले जनाएको छ ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, कराँतेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् ।

यस्तै, उत्कृष्ट वर्ष खेलाडी (पुरुष) को मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका डगोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, कराँतेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् ।

यस्तै, उत्कृष्ट वर्ष खेलाडी (महिला) तर्फ कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा छन् ।

वर्षका युवा खेलाडीमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनित छन् । उत्कृष्ट वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन् ।

अवार्ड कार्यक्रम एनटीभी प्लस, जनता टेलिभिजन, इमेज च्यानल र एक्सन स्पार्टस तथा विभिन्न फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गरिने मञ्चले जनाएको छ ।

मञ्चले बर्षेनी आयोजना गर्ने स्पोर्टस अवार्ड यसपटक कोभिड १९ को महामारीका कारण सेमि भर्चुअल रुपमा आयोजना गरिन लागिएको हो ।

अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि हो । यिस्तै डिस मिडिया नेटवर्कको सहकार्य, सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, इ–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रहेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया