नेकपा विभाजनको प्रभाव : सहकारीमा दुई समूहबीच प्रतिस्पर्धा

चितवन । तल्लो तहसम्म दुई कित्तामा विभाजित भएको नेकपाको विवाद दुग्ध सहकारीमा पनि देखिएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष प्रचण्ड नेपाल समूहबीच चितवनको राप्ती नगरपालिका ७ मा रहेको शहिद वलराम दुग्ध उत्पादक सहकारी संस्थाको अधिवेशनमा भएको प्रतिस्पर्धाले स्थानीय तहमा रहेका सहकारीसम्म विवाद भएको प्रष्ट देखिन्छ ।

सो सहकारीको नयाँ कार्यसमिति चयनका लागि नेकपा अध्यक्ष ओली समुहले नेपाली काग्रेशसँग तालमेल गर्दा नेकपाकै प्रचण्ड नेपाल समुह अर्को प्यानलमा रहे । शहिद बलराम दुग्ध उत्पादक सहकारीको १७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा ओली समूह र कांग्रेस निकट शेयर सदस्यहरुको प्यानल विजयी भयो ।

मतदान अघिसम्म दुवै प्यानलले प्रचार प्रसार गरेर भोट मागे । चुनाव चिन्ह पनि प्राप्त गरे । तर मतदान प्रक्रिया भने प्रचण्ड नेपाल समुहले बहिस्कार गरे । मतदान बहिस्कार गरे पनि प्रचण्ड नेपाल समुहमा केही मत परेको देखियो । निर्वाचनमा ओली र कांग्रेस प्यानलबाट उम्मेदवारी दिएका छविलाल भुषाल निर्वाचित भए । उनले कुल मत मध्ये ४९१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी प्रचण्ड नेपाल समुहका धर्मराज कडेँलले २९ मत मात्र प्राप्त गरे ।

मतदान प्रक्रियामा भने उनी सहभागी थिएनन् । १३ सदस्यीय कार्यसमितिमा सो समुहबाट ९ जनाको मात्र उम्मेदवारी परेको थियो । ति सवै उम्मेदवार पराजित भए । यता नेकपा ओली समूहले कांग्रेसलाई उपाध्यक्षसहित ५ जनाको कोटा दिएको थियो । उपाध्यक्षमा काग्रेश निकटका बुद्धिकान्त खरेल निर्वाचित भए ।

ओली र कांग्रेस निकट सदस्यहरुको प्यानलबाट सदस्यहरुमा मीनमाया क्षेत्री, सिता पाठक, मंगा तामाङ, सरिता थापा, गीतानाथ अधिकारी, ऋषिराम पाण्डे, गीता पाठक, बाबुराम सापकोटा, गोपाल न्युरे र खगराज कँडेल निर्वाचित भए ।

लेखा समिति संयोजकमा ओमराज खरेल तथा सदस्यहरुमा प्रदिप अधिकारी र बालकृष्ण देवकोटा निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी, सदस्यहरु, लेखा समितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ । राप्ती नगरपालिका प्रमुख प्रभा बरालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा निर्वाचन समिति संयोजक गोविन्द प्रसाद कँडेलले सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया