सन् २०२१मा विश्वको ध्यान कहाँ–कहाँ ‘सम्मोहन’ हुन्छ ?

काठमाडौं । कोरोना महामारीबाट गुज्रिँदै सन् २०२० लाई बिदाई गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कौतुहलता धेरैमा देखिएको छ । अधिकांशले नयाँ बर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस् भनेर ‘वीस्’ गरेका छन् । जनअपेक्षा र अवितव्य हुने कुरा एउटा पाटो हो भने नियमित र सम्भावित अवस्था अर्को पाटो हो ।

धेरै कार्यक्रमहरुमा विद्युतीय माध्यमहरुको प्रयोगलाई प्राथमिकता दिइने भएको छ । केही अनुमान गर्न सकिने नियमित र सम्भावित घटनाहरुको यहाँ चर्चा गरिएको छ ।

अमेरिकी प्रशासनबाट ट्रम्पको बिदाई र वाइडेनको प्रवेशः–
सन् २०२१ शुरुको ठूलो घटनाको रुपमा अमेरिकी प्रशासनमा हुने परिवर्तनलाई लिन सकिन्छ । आउँदो २० तारिकदेखि त्यहाँ सन् २०२० को राष्ट्रपतिय निर्वाचनबाट विजयी भएका जो वाइडेनको कार्यकाल शुरु हुँदैछ । सँगै डोनल्ड ट्रम्प बिदाई हुनेछन् ।

असामान्य र अस्वभाविक तरिकाले चलिरहेको अमेरिकी प्रशासन नयाँ नेतृत्व आएसँगै पूर्ववत् अवस्थामा फर्किने प्रतिक्षा धेरैले गरेका छन् । यही जनवरी ६ तारिखमा अमेरिकी संसद्मा ट्रम्पका समर्थकले गरेको हिंसात्मक प्रदर्शन अमेरिकी राजनीतिमा कालो धब्बाका रुपमा रहने भएको छ । नयाँ बर्षको पहिलो हप्ताबाटै नमिठो राजनीतिक तथा हिंसात्मक घटनाक्रम सुरुवात् भएको छ ।

कोरोना न्यूनीकरणको अपेक्षाः–
सन् २०२० मा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको कोरोना महामारी सन् २०२१ मा भने कम हुने अपेक्षा र प्रार्थना धेरैले गरेका छन् । सबै क्षेत्रलाई धाराशयी पारेको यो महामारी न्यूनीकरणका लागि विभिन्न खोपहरु विकास हुने क्रम चलिरहेकोले यस बर्ष सबैलाई खोपको उपलब्धता हुने सुखद् समाचारको प्रतिक्षा भइरहेको छ ।

कतिपय देशहरुमा अहिले लगाउन थालिएको खोप आपत्कालिन अवस्थामा मात्रै प्रयोग गर्न सिफारिस गरिएको खोप भएकाले सामान्य अवस्थामा पनि सबैले लगाउन मिल्ने खोप आउने विश्वास गरिएको छ । कोरोना भाइरसको संक्रमण पूर्ण रुपमा अन्त्य हुने नदेखिएकाले न्यूनीकरणमा नै चित्त बुझाउन पाइने अपेक्षा गरिएको छ ।

पूर्वनिर्धारित प्रतियोगिता तथा प्रदर्शनी:–
सन् २०२० मा हुने तय भएका धेरै खेलकूद प्रतियोगिताहरु कोरोना महामारीका कारण भएनन् । तर, अहिले महामारी न्यूनीकरण हुँदै जाने सम्भावना देखिएकाले गत बर्ष हुन नसकेका खेलकूद प्रतियोगिताहरु यस बर्ष हुने उच्च सम्भावना छ ।

कतिपय आयोजकहरुले गत बर्षको कार्यक्रमलाई यस बर्ष सञ्चालन गर्ने गृहकार्य पनि गरिरहेका छन् । खासगरी जापानमा हुने गृष्मकालीन ओलम्पिक प्रतियोगिता कोरोनाकै कारण सरेको थियो । जसको अलिहे तीव्र तयारी भइरहेको छ । विश्वको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जुन ११ देखि जुलाई ११ मा आयोजना हुँदैछ । सन् २०२० बाट सरेको यो प्रतियोगिता यूइएफए युरोपियन च्याम्पियनसिप सँगसँगै आयोजना हुनु फुटबल फ्यानका कम खुशीको कुरा चाहिँ होइन ।
महिला युरोपियन च्याम्पियनसिप भने सन् २०२२ मा आयोजना गर्ने तय गरिएको छ । सन् २०२१ मा विभिन्न फिल्म फेस्टिभलहरुको पनि तयारी भइरहेको छ । ती फेस्टिभलहरुमा सयौं चलचित्रकर्मीहरु सहभागी हुनेछन् ।

विश्व नेताहरुको जमघटः–
विश्वका नेताहरु सहभागी हुने धेरै कार्यक्रम पनि गत वर्ष स्थगित भए । ती कार्यक्रमहरु यस बर्ष हुने सम्भावना छ । संयुक्त राष्ट्रसंघको महासभा गत बर्ष भर्चुअल माध्यमबाट सञ्चालन गरिए पनि यस बर्ष नेताहरुको भौतिक उपस्थितिमै हुने अपेक्षा गर्न सकिन्छ । सिंगापुरको डाभोसमा हुने विश्व आर्थिक सम्मेलन मे १३ देखि १६ सम्म हुने भएको छ ।

विश्वभरी महामारी फैलिएकाले मे १८ देखि १९ सम्म हुने विश्व स्वास्थ्य सम्मेलनलाई पनि महत्वका साथ हेरिएको छ । त्यस बाहेक जी ८, जी २० लगायतका धेरै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु पनि यस बर्ष हुने देखिएको छ । धेरै सम्मेलन तथा कार्यक्रमहरु दीर्घकालीन महत्वका भएर पनि अघिल्लो बर्ष हुन नसकेकाले यस बर्ष गर्ने तयारीमा आयोजकहरु लागेका छन् ।

बेलायती प्रधानमन्त्रीको भारत भ्रमणः–
बेलायतका प्रधानमन्त्री बोरिस जोनसन यस बर्ष भारत भ्रमणमा आउने तय भएको छ ।

जनवरी २६ तारिखमा मनाइने भारतको गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा उहाँको भ्रमण हुने भएको हो । भ्रमणका क्रममा उहाँले भारतीय उच्च अधिकारीहरुसँग व्यापार, सुरक्षा, जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय चासोलगायतका विषयमा पनि छलफल गर्नुहुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको सतबार्षिकीः–
चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुगेको छ । सतबार्षिकीलाई चिनियाँ कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने र कोरोनापछिको प्रगति पनि विश्वलाई देखाउने गरी अवसरको रुपमा १००औं स्थापना दिवसलाई उपयोग गर्ने भएको छ ।

जुलाई १ मा स्थापना दिवसका अवसरमा गरिबी अन्त्यको घोषणा गर्ने तयारी पनि चीनले गरेको छ । तर कोरोनाका कारण लक्ष्य पूरा हुन बाधा पुगेको पनि हुनसक्छ । त्यो भने अझैं स्पष्ट भइसकेको छैन ।

राजकुमारी डायनाको ६०औं जन्मोत्सवः–
बेलायती राजकुमारी डायनाको ६०औं जन्मोत्सव यसै बर्ष मनाइने भएको छ । जन्मोत्सवालाई विषेश बनाउन उहाँका छोराहरू राजकुमार विलियम र ह्यारीले संयुक्त रुपमा आफ्नी आमाको सम्मानमा सालिक अनावरण गर्नुहुने भएको छ । उहाँहरु हुर्किएको सन्केन गार्डेनमा डायनाको सालिक बनाइएको छ ।

राजकुमार विलियम लन्डन र ह्यारी लसएन्जल्समा बस्ने गरेको भएपनि उहाँहरु आमाको सालिक अनावरणका लागि सन्केन गार्डेनमा जाने विषयलाई पनि महत्वका साथ हेरिएको छ ।

माथि उल्लेखित बाहेक यसै बर्ष धेरै देशमा निर्वाचन हुँदैछ । दुई पक्षीय विवाद र शान्ति स्थापनाका प्रयासहरुले पनि निरन्तरता पाउने देखिएको छ । त्यस्तै हरेक बर्ष विभिन्न ठाउँमा हुने दुखद् ठूला घटनाहरुका बारेमा भने पूर्वानुमान गर्न नसकिए पनि त्यस्ता घटनाहरु नहोलान् भन्न सकिँदैन ।

प्रतिक्रिया