संसद् विघटनमाथि साहित्यिक नजर–‘बयलगाडाको भाष्यसँग जोडेर हेर्नुपर्छ’ [भिडिओसहित]

काठमाडौं । व्यक्ति जोसुकै होस्, घटना जेसुकै होस् । हर-व्यक्तिसँग हर-घटनाप्रति कुनै न कुनै किसिमको दृष्टिकोण, विचार, विश्लेषण र तर्क हुन्छन् । त्यसको विश्वसनीयता धेरै होस् वा थोरै । आधिकारिकता कम होस् वा बढी । तर, सबैसँग सबैबारे केही न केही धारणा अवश्य हुन्छन् ।

त्यसो त अहिले नेपालमा प्रतिनिधि सभा विघटन भएकाे छ । सडकदेखि सदन (राष्ट्रिय सभा) मा यसकै चरम् चर्चा छ । परिणामतः अहिले नेपालमा प्रमुख बहसको विषय नै प्रतिनिधि सभा विघटन बनेको छ । समाजका सबै वर्गको ध्यान यसैले आकृष्ट गरेको छ । चाहे त्यो राजनीतिकर्मी होस् वा सञ्चारकर्मी नै । कानूनवेत्ता, संविधानका जानकार अनि साहित्यकारको मात्रै पनि होइन, नागरिक समाजका अगुवादेखि नागरिक सतहकै बहसको विषय पनि त्यही प्रतिनिधि सभा विघटन नै हुने गर्छ, आ–आफ्नै बौद्धिक गच्छेअनुसार ।

यो पनि सत्य होकि, अब त्यस्तो कुनै ठाउँ छैन– जहाँ प्रतिनिधि सभा विघटनको बहस नचलेको होस् । सडक पेटीका चिया पसलदेखि ठूला घरानाका रेष्टुँरासम्म, घरदेखि कार्यालयसम्म, सडकदेखि सदनसम्म, चुल्होदेखि पधेँरोसम्म, जहाँतहीँ चर्चाको विषय प्रतिनिधि सभा विघटन हुने गर्दछ ।

त्यसो त यस्तो एउटा विषय, जसको सबैतिर चर्चा भएको छ, जसलाई सबैले सुनेको छ र जहाँ सबैको नजर परेको छ । यस्तो विषयप्रति कुनै पनि विषयमाथि गहण अध्ययन र अनुसन्धान गरेर मात्रै सिर्जना  गर्ने साहित्यकारलाई के के लाग्छ ? यो भने पक्कै रोमाञ्चक र मननीय मात्र हाेइन अर्थपूर्ण पनि होला । त्यसैले त नेपाली साहित्य क्षेत्रमा वरिष्ठ साहित्यकारको छवि बनाएका कवि भूपाल राईसँग मकालु खबरले जिज्ञासा राख्यो, एउटा साहित्यकारले वर्तमान राजनीतिभित्र के के देख्छ ? राईको ‘जिस्ट् आन्सर्’ थियो– ‘अहिले नेपालमा देखिएको राजनीतिक अवस्थालाई बयलगाडाको भाष्यसँग जोडेर हेर्नुपर्छ ।’

राईले यो पनि भन्न भुलेनन् कि, ‘महेन्द्र, ज्ञानेन्द्रलगायतले गरेको ‘कू’को निरन्तरताको रुपमा अहिलेको संसद् विघटनलाई लिनुपर्छ ।’ यसभन्दा अगाडि राईले भने, ‘यो घटनामा पार्टीभित्रको अन्तरकलहकै मात्रै पनि भूमिका छैन । यो चाहिँ एउटा खास व्यक्तिको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता विरोधी भावनाको पुष्ट्याइँ पनि हो ।’

बयलगाडा प्रसङ्ग
जतिबेला माओवादी जनयुद्ध चल्दै थियो । त्यसको कट्टर आलोचकका रुपमा केपी शर्मा ओली नै उभिएका थिए ।

साधारणतयाः माओवादीको हिंसात्मक आन्दोलनको विरोध गरिरहने ओलीले त्योताका एउटा अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन ।’ अहिले पनि यही अभिव्यक्तिसँग जोडेर ओलीलाई खासगरी उनको विपक्षमा रहेका नेताहरुले तर्क साँध्ने गर्छन् ।

प्रतिनिधि सभा विघटनसँग जोडिएको राईका थप धारणा भिडिओमार्फत् थाहा पाऔँः–

 

प्रतिक्रिया