इन्डोनेशिया बोइङ्ग ७३७ दुर्घटना : विमानका अवशेष भेटिए, ६२ यात्रु बेपत्ता

एजेन्सी । इन्डाेनेशियामा ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान दुर्घटनाका अवशेषहरू फेला परेका छन् । विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य रहेका थिए ।

राजधानी जकार्ताबाट पोन्तिएनाकका लागि उडान भरेकाे केही बेरमै दुर्घटनामा परेकाे विमान उडेकाे चार मिनेटपछि राडारबाट हराएको थियो । शनिबार राति दुर्घटनामा परेकाे विमानका अवशेषहरू आइतबार बिहान जकार्ता नजिकको आइल्याण्ड आसपासमा फेला परेकाे छ ।

उक्त विमान शनिबार स्थानीय समय दिउँसो २:36 मा जकार्ता एयरपोर्टबाट उडेकाे थियाे । यातायात मन्त्रालयका अनुसार विमानसँग अन्तिम सम्पर्क २:४० मा भएकाे थियाे ।

नेशनल सर्च एण्ड रेस्क्यु एजेन्सीका प्रमुख एयर मार्शल बगस पुरुहितोका अनुसार, विमानले कुनै समस्याको संकेत पठाएन। उडान ट्र्याकिंग वेबसाइटका अनुसार, विमान एक मिनेट भन्दा कममा १०,००० फिट खसेको अनुमान छ ।

प्रत्यक्षदर्शीहरूले पनि विस्फाेट सुनेकेा बताएका छन् । एक माछावालले भनेका छन् कि उनले दुर्घटना देखे र किनारमा फर्कने निर्णय गरे । उनले भने, ‘हवाईजहाज बिजुली जस्तैगरी समुद्रमा खस्याे र पानीमा विस्फोट भयो । यो दुर्घटना हाम्रै नजिक थियो ।’

प्रतिक्रिया