विराटनगरका ब्यवसायीको गुनासो ‘जाँच केन्द्र बन्यो, रेल आएन’

विराटनगर । विराटनगरका ब्यवसायीले एकिकृत भन्सार जाँच चौकी संचालनमा आएपनि कार्गोको लागि रेल नआएको गुनासो गरेका छन् । उद्योग मन्त्रालयका उद्योग सचिव चन्द्रकुमार घिमिरे नेतृत्वको टोलीसँगको छलफलमा ब्यवसायीले रेल संचालनमा आउन नसकेको बारेमा गुनासो गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आयोजना गरेको छलफलमा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा बिराटनगरका ब्यवसायी अभिनाश बोहराले एकिकृत भन्सार जाँच केन्द्र संचालनमा आएपनि बल्क कार्गोका लागि अहिलेसम्म रेल नआउँदा लागत बढिरहेको गुनासो गरे । सबै प्रक्रिया पुरा गरेपनि रेल ल्याउन पहल नभएकोले तत्काल कार्गो संचालन गर्नुपर्ने उनको भनाइ छ ।

ठूला लगानीकर्ताका लागि मात्र एकद्वार नीति भएपनि साना उद्योगी व्यवसायीलाई पनि यो ब्यवस्था गरि ऋणको सुविधा दिनुपर्ने बोहोराले माग गरे । जग्गाको लागत धेरै महंगो हुनाले औद्योगिकरण हुन नसकिरहेकोले सरकारले लिजमा जग्गा उपलव्ध गराउनु पर्ने, आर्थिक विकासका लागि अब ग्लोबल भ्यालु चेन्जमा जान जरुरी रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालले देशलाई आत्मनिर्भर बनाउने खालका उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘नेपाली कामदार विदेशीनाले विदेशी कामदार ल्याउनुपर्ने हाम्रो वाध्यता बढेको छ, उनले भने, कोभिडका कारण भारतीय कामदार ल्याउन नसक्दा प्लाइउड, इटा भट्टा जस्ता उद्योग बन्द हुन पुगेका छन् ।’

ढकालले भन्सारमा जाँचपास भईसकेका सामान बाटोमा रोकेर जाँच गर्ने प्रवृत्ति रोक्न वाणिज्य सचिवको ध्यानाकर्षण गराए । ‘सामान बोकेका गाडी सडकमै जाँच गर्ने क्रमले ब्यवसायीलाई हैरान पारेको छ, उनले भने, जाँच भन्सार क्षेत्रमै गर्नुपर्यो ।’

छलफलमा उद्योग मन्त्रालयका उद्योग सचिव चन्द्रकुमार घिमिरेले देशको अर्थतन्त्र हुनुपर्ने जस्तो गरि चलायमान हुन नसकेको बताए । रेमिटान्सले अर्थतन्त्रलाई धानेको तथा रेमिटान्सबाट आयातकर्ता र घरजग्गा कारोवारीलाई मात्र बढी फाइदा पुगिरहेको उनले बताए ।

प्रतिक्रिया