चार पूर्व प्रधानन्यायाधीशलाई बाँस्कोटाको चुनौती–‘दाहाल–नेपाल पक्षबाट चुनाव लड्न आउनुस्’

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले प्रतिनिधि सभा विघटनविरुद्ध विज्ञप्ति निकाल्ने चारजना पूर्व प्रधानन्यायाधीशलाई चुनाव लड्न आउन चुनौती दिएका छन् ।

शनिबार गृहजिल्ला काभ्रेमा सम्पन्न पार्टी भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाबाट चुनाव लड्न आउन चुनौती दिएका हुन् ।

चुनाव लडेर राजनीति गर्न चुनौती दिएका बाँस्कोटाले भनेका छन्, ‘श्रीमान्हरुलाई राजनीति गर्न मन लागेको भए दाहाल–नेपाल समूहको अलोकतान्त्रिक कित्ताको सदस्य भएर चुनाव लड्न आउँदा हुन्छ ।’

भूतपूर्वहरुले वर्तमान मुद्दाको फैसला नगर्ने बताउँदै बाँस्कोटाले थप भने, ‘श्रीमान्हरु भूतपूर्वले फैसला गर्ने त होइन होला नि । फैसला गर्ने त वर्तमानले नै हो नि त । अहिलेसम्मको विधि त त्यही होला नि श्रीमान्हरु ?’

यसअघि शुक्रबार उल्लिखित ४ पूर्वप्रधानन्यायाधीशहरुले संयुक्त विज्ञप्ति जारी गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाविरुद्ध चालेको कदम अलोकतान्त्रिक भएको औंल्याएका थिए ।

प्रतिक्रिया