मन्त्रालयका टोलीलाई पूर्वका व्यापारीकाे गुनासो : ‘जाँचकेन्द्र बन्यो, रेल आएन’

  • सुमन सुस्केरा

विराटनगर । विराटनगरका व्यापारी एकिकृत भन्सार जाँच चौकी सञ्चालनमा आएपनि कार्गोको लागि रेल आउन नसकेको गुनासो गरेका छन् । शुक्रबार उद्योग मन्त्रालयका उद्योग सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा आएको मन्त्रालयका उच्च अधिकृतहरुको टोलिसँग व्यापारीले रेल संचालनमा आउन नसकेको बारेमा गुनासो गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आयोजना गरेको भेटघाट तथा छलफलका क्रममा विराटनगरका व्यापारी अभिनाश बोहराले भने, ‘एकिकृत भन्सार जाँच केन्द्र सञ्चालनमा आयो तर बल्क कार्गोका लागि अहिलेसम्म रेल आएन ।’

एकीकृत भन्सार जाँच केन्द्रको स्थापना भएपनि बल्क कार्गोका लागि अहिलेसम्म रेल सुविधा नहुँदा लागत बढिरहेको गुनासो गरे । सबै प्रक्रिया पुरा गरेपनि रेल सुविधा ल्याउन पहल नभएकोले तत्काल कार्गो सञ्चालनमा ल्याउनु पर्ने बताए ।

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका बोहराले ठूलो लगानीकर्ताका लागि मात्र एकद्धार नीति भएपनि साना उद्योगी व्यवसायीलाई पनि यो सुविधा दिइ ऋणको सुविधा दिनुपर्ने बताए । जग्गाको लागत धेरै महँगो हुन जाँदा औद्योगिकरण हुन नसकिरहेकोले सरकारले लिजमा जग्गा उपलब्ध गराउनु पर्ने, देशको आर्थिक विकासका लागि अब ग्लोबल भ्यालु चेन्जमा जान जरुरी रहेको उल्लेख गरे । वैदेशिक लगानी भित्र्याउन जरुरी भएको उल्लेख गर्दै वैदेशिक लगानीमा पुँजी मात्र नभएर प्रविधि र शिप पनि भित्रने जसबाट देशको आर्थिक विकासमा टेवा पुग्ने उनको दाबी छ ।

व्यवसायी भीमबहादुर पौडेलले प्रदेश १ आयात र निर्यातको हबको रुपमा रहेको भएपनि कार्गो सञ्चालन हुन नसक्नुलाई उनले सरकारी उदाशिनता भएको तर्क गरे । पौडेलले कोरोना भाइरसका कारण विश्वभर आएको आर्थिक संकटबाट नेपालमा पनि असर पर्दा उद्योगको उत्पादन, कामदार कटौती, बैंक ब्याज, सरकारको राजश्व लगायतका क्षेत्रमा ठूलो नोक्सानी हुँदा देशको आर्थिक अवस्था धारासायी भएको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १का अध्यक्ष टिकाराज ढकालले नेपालमा आत्मनिर्भर हुने खालका उद्योगलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिए । ‘स्वेदेशी कामदार विदेशिने क्रमले गर्दा विदेशी कामदार ल्याउनुपर्ने हाम्रो बाध्यता बढेको छ, उनले भने, ‘कोभिडका कारण भारतीय कामदार ल्याउन नसक्दा प्लाइउड, इँट्टा भट्टा जस्ता उद्योगहरु बन्द अवस्थामा पुगेका छन् ।’ ढकालले भन्सारमा जाँचपास भइसकेका माल सामान बाटामा रोकेर चेकजाँच गर्ने प्रवृत्ति रोक्नु सचिवको ध्यानाकर्षण गराए । ‘मालसामान बोकेको गाडी बाटोमा रोकेर चेकजाँच गर्ने क्रमले व्यवसायीलाई नै हैरान पारेको छ,’ उनले भने, ‘चेक जाँच गर्नु नै पर्ने हो भने भन्सार क्षेत्रमै गर्नु पर्याे, बाटोमा गाडी रोकेर गर्न रोकियोस् ।’

ब्यवसायीसँगको छलफलको क्रममा उद्योग मन्त्रालयका उद्योग सचिव चन्द्रकुमार घिमिरेले देशको अर्थतन्त्र जसरी चलाएमान हुनु पर्ने हो त्यसो नभएको बताए । उनले रेमिटेन्सले अर्थतन्त्रलाई धानेको दाबी गर्दै रेमिटान्सबाट आयातकर्ता र जग्गाको कारोबारीलाई फाइदा पुगिरहेको बताए ।

‘आजको युगमा पुरानै ढर्राबाट कारोबार हुन नसक्ने भन्दै उनले अहिलेको प्रविधिमा जान पनि वैदेशिक लगानी भित्र्याउन जरुरी रहेकोमा जोड दिए । बैदेशिक लगानीका पुँजीमा मात्र नहेरेर त्यसको प्रविधि, ज्ञान शिपलाई समेत हेर्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया