महिलाहरुलाई ढाकाको झोला बनाउने निःशुल्क तालिम प्रदान

भरतराज शर्मा
सुनसरी । धरानका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुनसरीको धरान १५ मा निःशुल्क ढाका कपडाको झोला बनाउने तालिम दिन शुरु गरेको छ ।

धरान उपमहानगरपालिका वडा नं १५ को सहयोगमा हातेमालो उद्यमी महिला समुहले तालिमको आयोजना गरी सो तालिम दिन सुरु गरेका हुन् ।
रेयुकाई भवनमा बिहिबार शुरु भएको तालिम ३० दिनसम्म चल्ने आयोजक संस्थाकी अध्यक्ष लिला ढकालले जानकारी दिएकी छिन्।

तालिम आयोजनाको लागि वडा कार्यालयले ७० हजार रकम सहयोग गरेको छ । तालिममा वडा १५ का १५ जना महिलाहरु सहभागीलाई सहभागी गराईएको पनि आयोजकले जनाएको छ ।

कार्यक्रम उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नं १५ का अध्यक्ष नरेश इवारमले वडामा महिला समुह सक्रिय भएको र धेरै महिलाहरुलाई आत्मनिर्भर बनाउन सक्षम भएको भन्दै प्रशंसा गरेका थिए ।


उनले महिला सञ्जालले धरानमा आयोजना गरेको उद्यमी मेलामा धरान १५ को हातेमालो समुहले आफनो उत्पादन लगेर बिक्री र प्रर्दशन गरेको स्मरण गर्दै अध्यक्ष इवारमले वडाको लगानी सही ठाउँमा भएको आफुलाई महसुस भएको धारणा व्यक्त गरेका थिए ।

त्यस्तै हातेमालो उद्यमी महिला समुहकी अध्यक्ष लिला ढकालले महिलाहरु बेरोजगार हुदा आर्थिकरुपमा श्रीमानको भर पर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले तालिमहरु निरन्तर रुपमा आयोजना गर्द आईरहेको बताएकी छिन् ।

प्रतिक्रिया