मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पल्सर स्पोर्टस् अवार्डका लागि केल्मी नेपालसंंग प्रायोजन

काठमाडौं  । ‘पल्सर स्पोर्टस अवार्ड २०७६’ को आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले केल्मी नेपालबिच प्रायोजन सम्झौता भएको छ । मञ्च र केल्मीबिच शुक्रबार पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजनको सम्झौता भएको हो ।

अवार्डको सह–प्रायोजकको रुपमा केल्मी नेपालले सात लाख ५० हजार रुपैयाँ बराबरका एक सय थान विन ज्याकेट, एक सय थान पोलो टी–सर्ट र ३५ (पैतिस) सेट गिफ्ट ह्याम्परमा कार्यक्रमको लोगो प्रिन्टसहित उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै केल्मीका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले कोभिड १९ को कठिन अवस्थामा अवार्ड कार्यक्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले साग प्रतियाेगितामा नेपाली खेलाडीले प्राप्त गरेको गौरवमय उपलब्धिलाई सम्मान गर्न समेत अवार्ड कार्यक्रमसंग जोडिएको उल्लेख गरे ।

मञ्चका अध्यक्ष देबेन्द्र सुबेदीले बिषम परिस्थितीमा समेत केल्मी नेपालले अवार्डको प्रायोजन रकममा वृद्धि गरेकोमा धन्यवाद दिए । घरेलु खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड यस वर्ष पुस २८ गते सेमि–भर्चुअल रुपमा आयोजना हुदैछ ।

अवार्डका लागि यसअघिनै पाँच विधामा पाँच पाँच जना मनोनयनमा परेका छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मन्डेकाजी श्रेष्ठ परेका छन् ।

त्यस्तै वर्षका उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, कराँतेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् ।

वर्षको उत्कृष्ट महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका हुन् ।

त्यस्तै, वर्षका युवा खेलाडीको मनोनयनमा भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा उसुका अमरकुमार थिङ, कराँतेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की परेका छन् ।

अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसंग प्रायोजन सम्झौता नवीकरण गरेको आयोजक मञ्चले सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रालि, रुस्लान, टर्किस एयरलाइन्स, रोयल सिंघी होटल, होटल क्राउन प्लाजा, इमेजिङसँग सहकार्य रहेको छ ।

वार्डलाई युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीको समेत सहयोग रहनेछ ।

प्रतिकृयाहरु
Loading...