‘पदीय स्वार्थको लागि संसद् विघटन भयो’

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पार्टीभित्रको राजनीतिक समस्याका कारण संविधानविपरीत कदम चालिएको बताएका छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा समय लिएर बोलेका श्रेष्ठले पार्टीभित्रको आन्तरिक मामिलाका कारण कसैले पनि संविधानविपरीत कदम चाल्न नहुने बताए ।

प्रतिनिधि सभा विघटनलाई संविधानविद् तथा कानूनविज्ञहरुले समेत नकारात्मक भनी व्याख्या गरेको दृष्टान्त सुनाउँदै नेकपा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले भनेका छन्, ‘यस (प्रतिनिधि सभा विघटन) लाई कसैले पनि राम्रो भनेको छैन । यो विघटन संविधानविपरीत छ । बारका पूर्वअध्यक्षदेखि लिएर नागरिकसम्मले यसलाई अलोकतान्त्रिक भनेका छन् । कुनै पनि राजनीतिक संकटका कारण जनताले चुनेका प्रतिनिधिहरुको समूहलाई भाँड्न पाइँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक समस्याका कारण प्रतिनिधि सभा विघटन गरेको बताउँदै श्रेष्ठले पार्टीभित्र आवश्यक बैठक तथा छलफलहरु पनि अघि बढिरहेको बताएका छन् । ‘आन्तरिक समस्याका कारण नेपाली जनताले दुःख गरेर बनाएको संविधानमाथि प्रहार भयो’, श्रेष्ठले भने, ‘आफ्नो समस्याका कारण अरुलाई समस्यामा पार्न पाइँदैन ।’

यसैबीच श्रेष्ठले सर्वोच्चले पनि संविधानमा नै टेकेर फैसला गर्ने बताए । आफूलाई अदालतले सकारात्मक खालको फैसला गर्ने विश्वास लागेको बताउँदै श्रेष्ठले भनेका छन्, ‘यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतले पनि संधिवानमाथि नै टेकेर फैसला गर्ने हो । यदि चित्तबुझ्दो फैसला भएन भने त्यो संधिवान कागजको खोस्टोमा परिणत हुनेछ ।’

पदीय स्वार्थको लागि पछिल्लो राजनीतिक घटना घटेको औंल्याउँदै श्रेष्ठले हिजो लोकतन्त्रका लागि लडेका नेताहरु नै आज स्वार्थी निस्किएको बताएका छन् । ‘पदीय स्वार्थको लागि सबै भयो । पार्टी एकता पनि पदको लागि । लोकतन्त्र पनि स्वार्थको लागि । विधान पनि स्वार्थको लागि । हुँदा हुँदा आफ्नै स्वार्थको लागि संसद् विघटन पनि भयो’, श्रेष्ठले भनेका छन्, ‘हिजो शहीदहरु यसैको लागि लडेका थिए ?’

श्रेष्ठले सबै नेताहरुले आत्मआलोचना गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया