अन्ततः ट्रम्पद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिबद्धता [भिडिओसहित]

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू शान्तिपूर्ण सत्ता हस्तान्तरणको लागि तयार भएको बताएका छन् ।  शुक्रबार एक भिडिओ ट्वीट् गर्दै राष्ट्रपति ट्रम्पले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

यस्तै ट्रम्पले संसद्मा हिंसा भड्किएकोप्रति निन्दासमेत गरेका छन् । उनले हिंसा भड्काउने कार्यमा संलग्न भएकाहरुप्रति खेद व्यक्त गर्दै उक्त कार्यको भागीदार आफू नभएको बताएका छन् ।

‘म संसद्मा भएको हिंसाबारे शुरुमा कुरा राख्न चाहन्छु । सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु’, ट्रम्पे भिडिओमा भनेका छन्, ‘मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिएँ ।’

तर, कतिपय सञ्चारमाध्यमहरुले त्यहाँ सुरक्षा बलको तैनाथी उपराष्ट्रपति माइक पेन्सको निर्देशनमा भएको उल्लेख गरेका छन् । समाचारहरुमा जनाइए अनुसार ट्रम्प त्यसको विरोधमा थिए ।

ट्रम्पले अमेरिकालाई सधैं एक कानूनी व्यवस्था भएको देश बनाइराख्नुपर्नेमा जोड दिनुपर्ने पनि बताएका छन् । ‘जो मानिसहरु हिंसात्मक घटनामा संलग्न थिए, उनीहरु हाम्रो देशको प्रतिनिधित्व गर्दैनन् । र जसले कानून तोडेको छ, उसलाई कारबाही हुनुपर्छ ।’

उनले नयाँ प्रशासन आउँदो २० जनवरीमा आउने पनि बताएका छन् । ‘नयाँ प्रशासन २० जनवरीमा आउनेछ । सुव्यवस्थित र निर्बाध सत्ताको हस्तान्तरणका लागि म बाचा गर्दछु ।’

केही समयअगाडिसम्म ट्रम्पले सामाजिक सञ्जालमार्फत् आफूले आफ्नो हार नस्वीकार्ने जिकिर गर्दै आएका थिए ।

अमेरिकामा सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा ट्रम्प जो बाइडेनसँग पराजित भएका छन् । बाइडेनले आगामी २० जनवरीबाट पदभार ग्रहण गर्दैछन् ।

प्रतिक्रिया