महान्यायाधिवक्ता अग्नि खरेलद्वारा तीन कारागार प्रमुखलाई पुस्तक हस्तान्तरण

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले तीन वटा कारागार कार्यालयका प्रमुखहरूलाई कैदवन्दीलाई अध्ययन गर्ने प्रयोजनका लागि पुस्तक हस्तान्तरण गरेका छन् ।

कारागार कार्यालय, डिल्लीबजार, काठमाडौं, कारागार कार्यालय, नख्खु, ललितपुर र कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंलाई ती कारागारमा रहेका कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्न पुस्तकालय प्रयोजनका लागि महान्यायाधिवक्ताको कार्यालयबाट रु १ लाख १७ हजार मुल्य बराबरका पुस्तक प्रदान गरिएको हो ।

महान्यायाधिवक्ता खरेलले कारागार कार्यालय, डिल्लीबजारका जेलर गणेश आचार्य, कारागार कार्यालय, नख्खुका जेलर मोहन अधिकारी र कारागार कार्यालय, जगन्नाथदेवलका जेलर लक्ष्मीप्रसाद बाँस्कोटालाई कैदी बन्दीलाई अध्ययनका लागि पुस्तक हस्तान्तरणगरेका थिए ।

उनले कारागारमा रहेका कैदीवन्दीको मानव अधिकारको संरक्षण, कैदीवन्दीको मानवोचित व्यवहारको अवस्था र कारागारहरूको भौतिक सुधारका लागि महान्यायाधिवक्ताको कार्यालयबाट कारागार कार्यालयहरूको अनुगमन गरी सम्बन्धित निकायलाई निर्देशन दिने गरिएको बताताए ।

उनले भने,‘कारागारमा कैदीलाई कानून बमोजिम दण्डित गरेर समाजमा पुर्नस्थापना हुन रूपान्तरण गर्न राखिने भएकाले कैदीवन्दीलाई अध्ययन गर्ने वातावरण सिर्जना गर्दा सकारात्मक प्रभाव पर्छ ।’

उनले कारागारमा रहेका कैदीवन्दीलाई सुध्रिने वातावरण तयार गर्न राज्यका सबै निकायहरू मिलेर काम गर्नुपर्नेमा जोड दिए।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त पुस्तकहरूले कारागारमा रहेका कैदीवन्दीहरूलाई अध्ययन गर्ने वातावरण सिर्जना गरी कैदीवन्दीमा सकारात्मक परिवर्तन ल्याउनमा सहयोग पुग्ने बताए।

उनले र मातहत सरकारी वकीलज्यूहरूबाट कारागार निरीक्षण गरी प्राप्त हुने प्रतिवेदनहरूमा उल्लेख भएका सुझावहरूको कार्यान्वयन कारागार कार्यालयहरूबाट साधन स्रोतको अधिकतम उपयोग गरी कार्यान्वयन भइरहेको जानकारी दिए ।

महान्यायाधिवक्ताको कार्यालयले संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा आठ वटा कारागारहरूका लागि नेपालको संविधान, ऐन नियमका पुस्तकहरू लगायत अन्य पठनीय सामाग्रीहरू खरिद गरी हस्तान्तरण गर्न लागेको हो ।

उक्त पुस्तक हस्तान्तरण कार्यक्रमको सञ्चालन सहायक न्यायाधिवक्ता शिव वाग्लेले गरेका थिए ।

प्रतिक्रिया