शून्य समय : सांसदहरूले उठाए कालिकाेटकाे बाढीदेखि उखु किसानका समस्या

काठमाडाैं । राष्ट्रिय सभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रतिनिधि सभा विघटन, कालिकोट जिल्लामा बाढी प्रभावितको व्यवस्थापन र उखु किसानको भुक्तानी लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद उदया शर्मा पौडेलले २०१७ साल पुस १ गतेको शाही कदमको पुनरावृत्ति हुने गरी ६० वर्षपछि पुस ५ गते संविधानको कुनै धारामा पनि उल्लेख नभएको काम वर्तमान सरकारले गरेको बताए । आफ्नै पार्टी भित्रको अन्तरविरोधका कारण प्रतिनिधि सभा विघटन गरिनु चित्तबुझ्दो कदम नभएको उनकाे भनाइ छ ।

पाँच वर्षका लागि नेपाली जनताले नेकपालाई विश्वास र भरोसा गरी दिएको मतको अपमान भएको बताए । यस्तै असंवैधानिक कदम फिर्ता लिन समेत उनले आग्रह गरे ।

यस्तै नेकपाकै अर्का सांसद जीवन बुढाले गत भदौ महिनामा कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका, राजकोट नगरपालिका, तिलागुफा नगरपालिका, महाबै गाउँपालिका र सानित्रिवेणी गाउँपालिकामा भिषण बाढी र पहिरो गई ११ सय भन्दा बढी नागरिकहरु घरबार विहिन भएको र उनीहरुको पुर्नस्थापनका लागि अहिलेसम्म केही काम नभएको बताए ।

यसैगरी नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले किसानहरुले मेहनत गरेको उखुको पैसा माग्न प्रत्येक वर्ष आन्दोलन गर्नुपर्ने अवस्था रहेको तर सरकार मौन रहेको बताइन् । उनले सरकारले आश्वासन दिने तर किसान सधैँ मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै त्यसको जवाफ सरकारले दिनुपर्ने बताइन् । यस्तै किसानलाई मल बिउबिजन समयमा उपलब्ध नगराउने तर किसानले दोब्बर खाद्यान्न उत्पादन गर्नुपर्छ भन्ने सरकारको प्रवृति रहेको बताउँदै उनले सरकार जवाफदेही भएर किसानको हितमा काम गर्न माग समेत गरिन् ।

नेकपाकी सांसद कोमल ओलीले अमेरिकी संसदमा भएको हिंसात्मक गतिविधिले विश्वको प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको बताइन् । यो घटनाबाट संसदीय व्यवस्थालाई सर्वोपरि ठान्ने सबै देशलाई थप चुनौती र चिन्ताको वातावरण बनाइदिएकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया