त्रिविका आंशिक प्राध्यापक तीनहप्ता देखि धर्नामा

काठमाडौं । समान कामको समान पारिश्रमिक पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकको तीन हप्तादेखिको धर्ना जारी छ ।

विभिन्न चरणका आन्दोलन गर्दै पुस २ गतेदेखि त्रिविका उपकुलपतिको कार्यालय अगाडी दिनहुँ धर्ना दिइरहेको र माग पूरा नभएसम्म जारी रहने आन्दोलन परिचालन समितिका संयोजक शशिकुमार शर्माले जानकारी दिए ।

६० प्रतिशत कक्षा भार लिइरहेका आंशिक प्राध्यापकलाई अत्यन्तै कम पारिश्रमिक दिएर त्रिविले बर्षौदेखि शोषण गरिरहेकाले समान कामको समान ज्याला नभएसम्म आन्दोलन नटुंगिने बरु थप कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संयोजक शर्माको भनाइ छ ।

त्रिविका सहकुलपति तथा शिक्षामन्त्रीसँग तथा त्रिविले गठन गरेको वार्ता समितिसँग धेरै चरणमा बार्ता भएको तर कुनै सहमति भने भइनसकेको वार्ता टोलीका नारायण कोइरालाले जानकारी दिए ।

आंशिक प्राध्यापकहरुले ६० प्रतिशत कक्षाभार लिइरहको, त्रिविमा हजारौ दरबन्दी खाली रहेको र ६–६ महिनामा खोल्नुपर्ने सेवा आयोग नखुलाइएकाले आंशिक प्राध्यापकमाथि बौद्धिक शोषण भइरहेको संघका सचिव मोहन घिमिरेले बताए ।

समान कामको समान ज्याला ग्यारेन्टी हुनुपर्ने, एक शैक्षिक सत्र पूरा गरेका सबै आंशिक प्राध्यापकलाई त्रिविको दरबन्दीमा करार गर्नुपर्ने जायज माग पूरा नभएसम्म आन्दोलन जारी रहने त्रिवि आंशिक प्राध्यापक संघका महासचिव राजेन्द्र गिरीले बताए । देशैभरिका आंशिक प्राध्यापकले गएको मंसिरदेखि पठनपाठन ठप्प पारेको पनि उनले जानकारी दिए ।

आफूहरुका मागमा त्रिविका सवै प्राध्यापक सँघ सँगठनले ऐक्येबद्धता समेत जनाइसकेको उनले बताए ।

२०७४ साल मंसिर ८ गतेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको प्रस्तावमा १४ सय २० दरबन्दी स्वीकृत गरि आंशिक प्राध्यापकलाई करार गर्ने र यसका लागि आवश्यक पर्ने आर्थिक स्रोत उपलब्ध गराउने निर्णय गरेपनि अहिलेसम्म त्यो कार्यान्वयन भएको र यसले गर्दा झनै समस्या भएको महासचिव गिरीको भनाइ छ ।

धर्नाका क्रममा उनीहरुले नाराजुलुस गर्ने, थाल ठटाउने, दिउँसै मैनबत्ति बालेर सांकेतिक विरोध जनाउने लगायत कार्यक्रम गरिरहेको संयोजक शर्माले जानकारी दिए ।

आंशिक प्राध्यापकहरुले कतिपपय क्याम्पसमा गएको चैत महिनादेखि पारिश्रमिक नपाएको र यसले गर्दा जिविकोपार्जनमै समस्या भएको गुनासो पनि गरेका छन् ।

 

 

प्रतिक्रिया