ट्रम्पलाई मोदीको आग्रह : ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुस्’

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकामा घटेको घटनाप्रति दुःख व्यक्त गरेका छन् । बिहीबार संक्षिप्त एक ट्वीट् गर्दै प्रधानमन्त्री मोदीले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न ट्रम्पलाई आग्रहसमेत गरेका छन् ।

‘वासिङ्गटन डीसीमा भएको दङ्गा र हिंसाको बारेमा समाचारहरू देखेर दुःख लागेको छ’, मोदीले ट्वीट्मार्फत् उल्लेख गरेका छन्, ‘क्रमशः र शान्तिमय शक्तिको स्थानान्तरण जारी रहनुपर्छ । लोकतान्त्रिक प्रक्रियालाई गैरकानुनी विरोधको माध्यमबाट बिगार्न मिल्दैन ।’ अमेरिकाको संसद् भवन क्यापिटल बिल्डिङ्गमा राष्ट्रपति डोनल्ड ट्रम्प समर्थकले तोडफोड गरेका छन् । सोही क्रममा एक जनाको निधन भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् भने अन्य १३ जना पक्राउ परेका छन् । हुलदङ्गा नियन्त्रणबाहिर गएपछि डीसीमा अहिले कर्फ्यू लगाइएको छ ।

सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा जो बाइडेनसँग पराजित भएका ट्रम्पले मतगणनामा धाँधली भएको दाबी गर्दै आएका छन् । यसैकारण उनले आफ्नो हारलाई स्वीकारिसकेका छैनन् ।

बाइडेनले आगामी २० जनवरीबाट राष्ट्रपतिको आधिकारिक जिम्मेवारी सम्हाल्दैछन् ।

प्रतिक्रिया