मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

वकिलले विवेकको प्रश्न उठाएपछि कार्की संवैधानिक इजलासमा नबस्ने

|न्यायाधीशहरु, चोलेन्द्रशमशेर जबरा, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी। तस्वीरः फाइल|

संसद् विघटनका बारेमा सुनुवाइका लागि प्रधानन्यायाधीस चोलेन्द्रसमसेर जबराले गठन गरेको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका छन् । गठन भए लगत्तैदेखि विवादित बनेको संवैधानिक इजलासमा बुधबार बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, दिनेश त्रिपाठी र कृष्णप्रसाद भण्डारीले न्यायाधीश कार्कीमाथि विवेक र इमानको प्रश्न उठाएपछि कार्की इजलासमा नबस्ने निर्णयमा पुगेका हुन् । बुधबार चियापछिको सुनुवाइमा बरिष्ठ अधिवक्ताहरुले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली कै सरकारको महान्यायाधीवक्ता रहेको ब्यक्ति न्यायाधीशका रुपमा इजलासमा रहन नैतिक हिसाबले पनि नमिल्ने भन्दै आपत्ति जनाएका थिए ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहोराद्वारा राजीनामा

|सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोरा। फाइल फोटो|

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् । मन्त्री बोहोराले बुधबार पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएका हुन् । नेकपा विभाजन हुँदा केपी शर्मा ओलीतिर लागेका बोहोराले आज राजीनामा दिएका हुन् ।

बोहोरा ओली समूहले बनाएको १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय समितिमा समेत परेका छन् । यसअघि ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । ५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।

घरमा झमेला हुँदा घर नै भत्काइदिने ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले घरमा झमेला हुँदा घरै भत्काएको टिप्पणी गरेका छन् । ‘यो संविधान विरोधी कदम हो । यसले लोकतन्त्रका मूल्यमान्यतामाथि प्रहार गरेको छ । यो प्रतिगामी कदम पनि हो’, अध्यक्ष नेपालले भनेका छन् ।

ओलीले पार्टीभित्र काम गर्न दिइएन भनेर भनेको स्मरण गर्दै अध्यक्ष नेपालले ओलीसँग विध्वंसात्मक प्रवृत्ति रहेको औंल्याए । उनले भने, ‘पार्टीभित्र काम गर्न दिइएन । घेराबन्दीमा पार्न खोजियो, देखाइदिएँ । न प्रतिनिधि सभा रहन्छ, न म मलाई गिराउँछन् भन्ने हिसाब प्रतिनिधि सभा विघटन गरियो । घरमा झमेला भएकोले घर नै भत्काइदिने?’

कोरोना अपडेट : थप ४०९ जनामा पुष्टि, ६ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना भाइरस(कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कूल संक्रमितको संख्या २ लाख ६३ हजार एक सय ९३ पुगेको छ ।

देशभरका प्रयोगशालामा ६ हजार सात सय ६ जनाको नमुना परीक्षण गर्दा एक सय ४४ महिला र दुई सय ६५ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा चार सय ९५ जना संक्रमण मुक्त भएका छन् । योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ५६ हजार एक सय ६१ पुगेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय ९९ सय पुगेको छ ।

हाल देशभर पाँच हजार एक सय ३३ सक्रिय संक्रमित छन् । जसमध्ये एक हजार ६ सय आठ जना होम आइसोलेसनमा छन् । एक सय ९७ जनाको आईसीयूमा र ३० जनाको मेन्टिलेटरमा उपचार भइरहेको छ ।

खानेपानीमन्त्री थापालाई जाजरकोटमा कालो झण्डा

|खानेपानीमन्त्री मणिचन्द्र थापालाई कालो झण्डा देखाउँदै अखिलका कार्यकर्ताहरु। तस्वीरः फेसबूक|

कामचलाउ केपी ओली सरकारका खानेपानीमन्त्री मणिचन्द्र थापालाई कालो झण्डा देखाइएको छ । ओली समूहको प्रशिक्षणको लागि जाजरकोट पुगेका मन्त्री थापालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय अखिलका नेताहरुले कालो झण्डा देखाएका हुन् ।

प्रशिक्षण सकेर नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका–४ बोहरामा कालो झण्डा देखाएइएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले मकालु खबरलाई जानकारी दिए । दाहाल–नेपाल नेतृत्वको नेकपा छोडेर ओली नेतृत्वको नेकपामा आएका मन्त्री थापा कार्यकर्ता प्रशिक्षणका लगि जाजरकोट पुगेका थिए

‘आफूलाई काम नलाग्ने भएपछि संविधानको पांग्रा भत्काउनुभएको छ’
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको एउटा पांग्रो भत्काएको बताएका छन् ।

उनले नेकपाले राजधानीको इन्द्रेणी पार्टी प्यालेसमा आयोजित अन्तर्क्रिया कार्यक्रममा आफूलाई काम नलाग्ने भएपछि संविधानको पांग्रो भत्काएको बताए । रिजालले आफूलाई मन नपर्दैमा भत्काउँदै जाने भए केही पनि नरहने बताए ।

‘उहाँले आफूलाई काम नलाग्ने भएपछि संविधानको पांग्रा भत्काउनुभएको छ,’ रिजालले भने । उनले बहुमतको प्रधामन्त्रीले पनि संसद् विघटन गर्न नपाउने व्यवस्था गरेको पनि बताए । उनले दुस्ख गरेको बनाएको संविधानमा फुच्चे सत्तावादी ओलीको बल मिचाइबाट मुक्त गर्ने पनि बताए ।

सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनु उपयुक्त हुन्छ : रवीन्द्र मिश्र
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्‍निप्रसाद सापकोटाले संसद् बैठक डाक्नु उपयुक्त हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहद्वारा मंगलबार काठमाडौँमा आयोजित अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै मिश्रले यस्तो धारणा व्यक्त गरेका हुन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम राजनीतिक अराजकता र विकृतिको नांगो रुप भएको बताउँदै उनले सर्वोच्च अदालतले संसद् विघटन उल्टाइदिए सुखद हुने बताए ।

‘प्रधानमन्त्रीले संविधान कुल्चिएर विघटन गर्नुभएको छ । साढे १० बजे अविश्वासको प्रस्ताव दर्ता भएको हो भने संसद् विघटनको सिफारिस दिउँसो भएको छ । प्रधानमन्त्रीले संसद् कुल्चिएको अवस्थामा म संविधानको पालना गर्छु । प्रतिनिधिसभाको अविश्वासको प्रस्तावमाथि छलफल गराउन चाहन्छु भनेर सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनु उपयुक्त हुन्छ,’ मिश्रले भने ।

राष्ट्रियताकाे पक्षमा ओलीले अडान लिँदा सरकार ढाल्ने षडयन्त्र भयाे : भगवती चौधरी
सरकारलाई विभिन्न तवरले घेराबन्दी गरी असफल बनाउने खेल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहँदा नचाहँदै संसद विघटन गर्नु परेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भगवती चौधरीले बताएकी छन् ।

सुनसरी क्षेत्र नं. ३ को इटहरी उपमहानगरपालिका वडा नं. १०, ११, १२ र १३ का अगुवा कार्यकर्ता भेलामा बोल्दै नेतृ चौधरीले यस्ताे बताएकी हुन् । राष्ट्रियताका पक्षमा प्रधानमन्त्री ओलीले लिएको अडान, समृद्ध नेपाल सुखी नेपालीको नाराकै कारण मुलुकलाई परिवर्तनको दिशातर्फ अगाडी बढाउन नचाहने तत्वले नेकपालाई फुटको दिशातर्फ उन्मुख बनाइएको पूर्वराज्यमन्त्री समेत रहेकी चौधरीकाे भनाइ छ ।

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

|सांकेतिक तस्वीर। फाइल फोटो|

शेयर बजार मापन गर्ने नेप्से परिसुचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से सूचक बुधबार १३.०७ अंकले बढेर अहिलेसम्मकै सर्वाधिक २ हजार १ सय ७८ दशमलव ५७ विन्दुमा पुगेको हो । आइतबार बढेर कीर्तिमान बनाएको नेप्से परिसूचक सोमबार र मंगलबार सामान्य घटेपछि बुधबार नयाँ उचाइमा पुगेको हो ।
बुधबार २ सय ५ कम्पनीको ४ अर्ब ४२ करोड ५४ लाख ७२ हजार ३ सय ३९ रुपैयाँको शेयर किनबेच भएको छ ।

यो दिन सबैभन्दा धेरै निर्जीबन बीमा समुह ११२.६६ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूह ५६.३१, जीवन बीमा समुह २४.८३, विकास बैंक समुह २२.९५ र बैंकिङ समूह ११.८ अंकले बढेको छ । बजार बढेपनि ब्यापार र जलविद्युत समुहको परिसूचक भने घटेको छ । बुधबार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २१ करोड ३३ लाख ८६ हजार ७ सय ४३ रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्स कम्पनीको २० करोडभन्दा बढी र नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ४४ लाख भन्दा बढीको किनबेच भएको छ ।

असान्जलाई सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ
राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् ।

बेलायती अदालतले अमेरिका सुपुर्दगी गरिए असान्जमाथि यातना सहित कठोर कारावासमा पठाइने भन्दै असान्जको कमजोर मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखी अमेरिका सुपुर्दगी गर्न अस्वीकार गरेको थियो ।

मेल्जरले मंगलबार सार्वजनिक गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “संयुक्तराज्य अमेरिकामा असान्जमाथि ठूलो यातना वा अन्य किसिमले क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा यातना दिइने निश्चित थियो ।”

 

प्रतिक्रिया