मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मिल्दा सुँघासुँघ, नमिल्दा ठुँगाठुँग

जतिसुकै राम्रो संविधान आएपनि बाघले मृगको शिकार गर्न छोड्दैन

काठमाडौं । कबिल्ला राजाकी एउटी छोरी थिइन् । एकमात्र सन्तान अत्यन्त रोगी हुँदा राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन । एक प्रख्यात ज्योतिषले बिसेक पार्न यस्तो उपाय सुझाए– ‘लोभ नभएको मानिसले पहिरिएको थोत्रो कमिज लगाइदियो भने राजकुमारीको रोग निको हुन्छ ।’ सन्तानका लागि सबै गुमाउन तयार कबिल्ला राजा यस्तो सरल उपायले हर्षविभोर भए । ज्योतिषिलाई पुरस्कृत गरे । अनि लागे लोभमुक्त मानिसको खोजीमा । तर बिडम्बना जो मानिस भेटिन्थ्यो, उ लोभबाट निरपेक्ष थिएन । जहाँ गएपनि दिने र लिनेमा रस्साकस्सी चल्थ्यो । उदार मानिस खोज्ने क्रममा उनी एउटा किसान बस्तीमा पुगे । हलो जोतिरहेको किसानलाई इमान्दार ठम्याएर राजाले आफ्नो परिचय दिँदै कमिज मागे । उ तयार भएन । आकर्षक प्रस्ताव राखे, त्यसले पनि छोएन । राजा थोत्रो कमिजका लागि साम, दाम, दण्ड, भेद लगाउन तयार थिए । आखिर किसानको शरीरबाट हातै हालेर कमिज हात पार्न राजा अघि बढे । किसान डराएर भाग्न थाल्यो । राजा पछ्याउँदै गए । धेरै समयको दौडधुपपछि राजाले किसानको मजेत्रो हात पारे । जब मजेत्रो तानिएर हातमा आयो, आश्चर्य राजा देख्छन् त उसको शरीरमा कमिजै पो रहेनछ ।

चुनाव गराउने नाममा चलेको ओली तुरुप अन्ततः त्यही थोत्रो कमिज पाउन कबिल्ला राजाले गरेको निरर्थक प्रयास जस्तै भएको छ । यस खालको माथापच्चीले नेपालको राजनीतिमा असहिष्णु राजनीतिको अर्को धतुरो रोपिएको छ । व्यक्तिको उदय, पतनको सवाल होइन, विषबृक्ष रोपिएपछि त्यसले दिने फलले कति पुस्ता दुष्प्रभावित हुन्छ भन्ने अहं प्रश्न हो । समग्रमा भुइँको लोभ गर्दा पटुकाको पनि गुमाउनुपर्ने अबको आमन्त्रित परिस्थिति हो । एकथरि भन्छन्– अब विश्वयुद्ध भयो भने पानीका लागि हुन्छ । तर नेपालमा न्यायका लागि अझै युद्धको खतरा टरेको छैन । न्याय मरेको देशमा अरु सवै संकल्प पाखण्ड शिवाय केही हुँदैन । त्यही भएर त हो नि हाम्रो परिप्रेक्ष्यमा कानुन माकुराको जालभन्दा माथि उठ्न सकेको छैन । जहाँ, साना अड्कन्छन, ठूला उम्कन्छन् । खलिल जिब्रानले भनेका छन्– ‘कुटिलता कहिलेकाहीँ मात्र सफल भएको छ । यो सधैं आत्मघातीसिद्ध भएको छ ।’

मावलमा देखेको ठूलो आकारको ‘क’ घरमा नदेख्दा रुने कालिदासका चेलाहरु देशका सबै भीआईपी र भीभीआईपी पद ओगट्छन् ।

नेपालमा संविधान एकातिर छ तर संविधानले निर्देशित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको ठाउँ क्रसर सञ्चालक, मेनपावर व्यवसायी, जग्गा दलाल र शक्तिका पूजारीहरुले लिएका छन् । यो देशमा १५ लाखमाथि रहेको जनसंख्या काम हैन, राजनीति गर्छ । काम गर्ने अख्तियारी लिएर राज्यबाट पारितोषिक लिनेहरु नेताहरुलाई राजनीति सिकाउँछन् । मावलमा देखेको ठूलो आकारको ‘क’ घरमा नदेख्दा रुने कालिदासका चेलाहरु देशका सबै भीआईपी र भीभीआईपी पद ओगट्छन् ।

झुक्किएर स्कूलमा उपस्थित हुनेहरु अहिले नवधनाढ्य भएर तिनीहरुको पालनपोषणको जिम्मा लिन्छन् । अनि स्कूलको अनुहार नदेखेका बज्रस्वाँठहरु महात्मा बनेर यी सबैलाई खुट्टा ढोगाउने ज्ञानी, महात्मा, सन्त दरिन्छन् । मन्त्रीभन्दा पीए, पीएभन्दा ड्राइभर शक्तिशाली हुनु नै त देश ओरालो लाग्नुको पूर्वाभ्यास हो । आखिर हिजो र आजको श्रृंखलामा भोलि टाँसिएर आउने हो । कुनै मान्यता भत्काउँदा त्यहाँ ठड्याउने आस्था तयार गर्न सकिएन भने त्यसले सधैं अन्धकार निम्त्याउँछ ।

जतिसुकै राम्रो संविधान आएपनि बाघले मृगको शिकार गर्न छोड्दैन । गाई मांसाहारी हुँदैन ।

जतिसुकै राम्रो संविधान आएपनि बाघले मृगको शिकार गर्न छोड्दैन । गाई मांसाहारी हुँदैन । लामखुट्टे टोकेर भाग्न छोड्दैन । पशुपतिको बाँदरले भक्तले बोकेको केरा थुत्नबाट सन्यास लिँदैन । सूर्य उत्तरबाट उदाएर दक्षिणमा अस्ताउने पनि होइन । नेपालको भूगोल तन्किने, खुम्चिने प्रश्नै रहेन । सेनाको व्यारेक सरेजस्तो जनता साटिने पनि होइन । छिमेकी र सन्तानको रंग रुप इन्द्रेणी बनेर फेरिने होइन ।

नचाहिँदा कोकोहोलोको के अर्थ ? पानी जतिसुकै तरल भएपनि त्यसको शोभा चट्टानसँग भएजस्तै नेताहरु जतिसुकै नालायक भएपनि तिनीहरुको साइनो लोकतन्त्रसँगै सुहाउँछ । कहिल्यै नभुलौं– ‘सत्यभन्दा संग्रहयोग्य अर्को वस्तु छैन । यो घुमाउरो बाटो हिँड्दैन् ।’

जसले जीवनमा एउटा सिंगो किताब उधिनेर पढेको रेकर्ड छैन, त्यसको बैठक पुस्तकको चाङले भरिएको देखिन्छ । पशुपतिमा सिंगो मोहोर नचढाएकाहरुलाई पारदर्शिताको हिसाबले भतभती पोल्छ । हो, यी सबै दृश्यले भन्छ– हाम्रा लागि आवश्यकता कम, पाखण्ड ज्यादा महत्वपूर्ण बन्दै गएको छ । हरेकलाई आफ्नो कर्म र कर्तव्य साँघुरो बन्दैछ । जो जे मा योग्य छ, त्यसलाई विपरित काम दिइन्छ । योग्यले पायो भने पनि सबभन्दा पहिले उसको रुची सिण्डिकेट चलाउनेमा हुन्छ । कलम चलाउनेहरु कलम चलाउने बाहेकका काममा योग्य देखिएका छन् । सामाजिक सञ्जाल हेर्नुस्, आफ्नो औकात सबैलाई बिझाएको छ ।

डाक्टरहरुको अग्निपरीक्षा बिरामीको अनुहारले गर्छ । ३ करोड जनताको भविष्य निर्धारण गर्न नसक्ने नालायकहरु राजनीतिक डाक्टर हुन खोज्दा नेताहरुले खानुपरेको सत्तोसराप जगजाहेर नै छ । एउटा भकुण्डो हात पार्न २२/२२ जना झुत्ति खेलेको पीडा खेप्न नसकेर प्रत्येकलाई एक एक वटा भकुण्डो किनिदिने उद्घोष गरेको भन्दै पुराना मन्त्री ध्यानबहादुर राईलाई उडायौं । टेलिफोनको रिसिभर उठाएर उताबाट गरिएको नमस्ते फर्काउन दुई हात जोड्दा टेलिफोन फुटाएको भनेर धनशेर राईलाई जोकर बनायौं । अंग्रेजी नजानेका जोगमेहरले गाडीको दुईतिर लेखिएको ‘फेरि भेटौंला’को अंग्रेजी अनुवाद ‘हर्न प्लिज’ गरेर विदेशीसँग हर्न प्लिज भन्दै विदा मागेको किस्सा बनाइयो । आखिर त्यो समयको बितेको दशकौं पछि पनि त्यस अवस्थाबाट हाम्रा दैनिकीहरु एक पाइला अघि बढेका छैनन् ।

मान्छेको कमजोरीमा खेल्नेहरुले ३६ वर्षमा तुलसी गिरी प्रधानमन्त्री , अनिरुद्ध प्रसाद सिंह ३४ वर्षमा प्रधानन्यायाधीश, भरतमणि शर्मा २३ वर्षमा मन्त्री, ३१ वर्षको उमेरमा हिमालय शमशेर राणा राष्ट्र बैंकको गभर्नर, भेषबहादुर थापा २५ वर्षमा सचिव, ३१ वर्षको उमेरमा अमेरिकाको राजदूत बन्ने हैसियत बनाएका हृषिकेश शाहको पदचाप किन पछ्याउन सक्दैनन् ? संसारको नेतृत्व दुई बीस नकट्दै लिने परम्परा विपरीत ६० वर्ष नाघेपछि दलहरुमा राजनीतिको खाता खोल्ने परिपाटी कहाँबाट आयो ?

न्यायालय राजनीतिलाई मनपरीको लिगबाट समाधानको बाटोमा ल्याउने एकमात्र निर्विकल्प शूत्र हो । यसमा खिया लाग्यो भने राजनीतिको बुल्डोजरल जतिबेला जसको बाली पनि विमाख गर्न सक्छ । निरंकुशता लादेर देशमा ‘रणचण्डी’ को उपाधि धारण गरेकी इन्दिरा गान्धीलाई भारतीय सर्वोच्च न्यायालयका तात्कालिन प्रधानन्यायाधीश वीआर कृष्ण अयरको फैसलाले  चुरीफुरी सिध्याइ दियो । आफूलाई  सर्वशक्तिमान बनाएकी गान्धीको संकटकाल विरुद्ध अयरले ऐतिहासिक फैसला गरेर भारतलाई २१ महिने स्वेच्छाचारी निरंकुशताबाट मुक्त बनाए । उनले संकटकाल विरुद्धको फैसलामा भनेका छन्– ‘आपतकाल जम्माजम्मी शासनको स्वेच्छाचारिता रहेछ । यो वर्वर निरंकुशतालाई शीघ्र र सामूहिक रुपमा सामना गरिएन भने यसको घातक प्रभुत्व झन् बढ्नेछ । र हाम्रो राजनीतिक प्रणालीमा निहित धेरथोर प्रतिकार क्षमता पनि यसको विषाक्त प्रभावबाट नष्ट हुनेछ । यसलाई समयमै निषेध गर्न सकिएन भने यसले विविध व्यवस्थालाई नै ध्वस्त गर्ने राजकीय आतंकवादीको रुप लिनेछ ।’

यो नैतिकता र साहस प्रदर्शन गर्ने हाम्रो न्यायक्षेत्र पद प्राप्तिको म्याराथुनमा किन अगाडि बढ्दै छ ? हो समाजका हरेक तह र तप्काका मानिसहरु पत्रिकामा निस्किएका वर्गीकृत विज्ञापनजस्ता भएका छन् । जमिनको लेनदेन घटेपनि मानिसका किनबेच अपत्यारिलोसँग फस्टाएको छ । जीवनभर बर्दी र विलासी जीवन धारण गरेकाहरु यतिबेला नवक्रान्तिकारी बनेर सर्पको मुखमा परेको भ्यागुतोले छिचिमिराको लोभ गरेजस्तै पदको आशक्तिमा मुख बाइरहेका छन् । उनीहरु सेवाभन्दा पनि प्रतिशोधको आगो झोस्ने योजनामा रहेको बुझ्न कठिन छैन । सिर्जनशील मानिस जहाँ बसेपनि उत्साहजनक काम गर्छ ।

सन् १७८० मा विलियम एडिस नाम गरेको एक व्यक्ति उपद्रो गरेको आरोपमा जेल सजाय भोगिरहेका थियो । सबै कैदीहरुलाई झैँ उसलाई पनि दाँत माझ्न कठिन भइरहेको थियो । कहिले औंलाले त कहिले रुखको नरम हाँगाले उ दाँतमा रगड्थ्यो । एकदिन मनमा के आयो कुन्नि मासु खाएर फालिएको पातलो हाडमध्ये एउटा हाड छान्यो र त्यसमा दुलो पार्यो । ती दुलोमा जनावरको कडा केश घुसार्यो । बस संसारको पहिलो टुथ ब्रस तयार । जेलबाट छुटेपछि उसले यही व्यवसायलाई अघि बढायो । अयोग्यतालाई भजाउन राजनीतिको कुटीर उद्योगका नाममा पुलिस गेष्ट हाउसमा वर्षौं बसेका हाम्रा नेताहरुले देश र समाजलाई एउटा मुसाले जति पनि सहयोग गर्न सकेका छैनन् । बरु मुसाले समुद्रपारीबाट अन्न ओसारेर मानिसको सारंगी पेट भरिलो पार्न मद्दत गर्यो । तर सचेत मानिस न नूनको, न गुनको भर हुन सक्यो ।

रामराज्यमा एउटा नागरिकको आवाज पनि राजाले सुन्थे । कपाल कोर्दा एउटा फुलेको रौं झर्यो भने बाउले छोराले सत्ता हस्तान्तरण गर्दथ्यो । धोवीले सीतामाथि प्रश्न उठाउँदा राम शंकालु भएको आग्रह एकातिर होला तर त्यो भन्दा ठूलो मूल्य जन अभिमतको कदर हुनु हो ।

नेपालको सन्दर्भमा सत्ता र शक्ति यस्तो भिटामिन हुने गरेको छ कि फलामको पाइपजस्ता हाडे शरीर लिएर जानेहरुको गालासमेत पुटुस्स देखिने गरेको छ । शहीदको पंक्तिमा पर्न तँछामछाड गर्ने जनयुद्धका कामरेडहरु धनयुद्धमा परेपछि कसरी सखाप भए नेतृत्वको छैटौं इन्द्रियले विचार गरेकै होला ।

एकदिन विश्वविख्यात कलाकार पिकासोलाई कसैले सोध्यो– ‘तपाईंको तस्वीर म त केही बुझ्दिनँ।’ उनले प्रत्युत्तरमा स्वाभाविक उत्तर दिए– ‘चिनियाँ भाषा शायद तपाईं बुझ्नुहुन्न तर ५० करोडभन्दा बढी यही भाषा बोल्छन् ।’ हो माओवादी भाषा थोरैलाई मात्र आउँछ तर विश्वका सात अरब मानिसले बुझ्ने यौटै भाषा छ । त्यो हो– हाँसो । हरेक राजनीतिको गन्तव्य त्यही हो । त्यसबाहेकका सबै चिज बस्तुको हैन, मान्छेको व्यापार बढाउने कुटिल खेल मात्र हो । कम्युनिष्ट दर्शनले सर्वहारा बर्गको शासनलाई आफ्नो मूलमन्त्र ठान्छ । यदि यो सत्यमा अविचलित हुने हो भने उनीहरुले अब फेसबुक, ट्वीटर, भाइबरका आविष्कारकलाई राजनीतिक गुरु परिवर्तन गर्न जरुरी छ । सामाजिक सञ्जालका यी सेवामा अमेरिकी राष्ट्रपति र एउटा भरियालाई समान सुविधा दिइन्छ । सम्भवतः माक्र्स, लेनिन, माओका सिद्धान्त यसको तुलनामा एक चौथाइ पनि लागू भएको छैन ।

अहिले हेर्नुस् त घरघरमा असन्तुष्टिको आगो सल्किएको छ । कोही कसैसँग सन्तुष्ट छैन । सामाजिक सद्भाव यसरी खल्बलिएको छ कि एउटा पुस्ताले अर्को पुस्तालाई निषेध गर्ने अचम्मको संस्कार भित्रिएको छ । नातिले हजुरबाको अभिभावकत्व ग्रहण गरेको विरलै देख्न पाइन्छ । टुकुटुकु हिँड्ने सन्तानलाई दरिलो टेको दिएर उभ्याउने अघिल्लो पुस्ताका हातहरुमा अहिले नाति र छोराको हात नभएर निर्जीव लाठी जीवनको सहारा बनेको छ । क, ख, एबीसीडी बनाउनेहरु पक्कै पनि निष्ठुरी थिए । तर तिनै अपठितहरुले बनाएको बाह्रखरी पढेर आफूलाई स्वघोषित मूर्धन्य ठान्नेहरुले न ए अगाडि केही पत्ता लगाउने सके, न ज्ञ पछाडि केही खोज्न सके । लाटो तीनपल्ट हाँस्छ रे । पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर अगाडिको अगाडिको अवस्था सम्झिएर । विश्व मानचित्रमा हामी अहिले त्यस्तै लाटा भएका छौं ।

कुवाको पानी र ज्ञान उस्तै हो । जो कहिल्यै झिकेर र बाँडेर रित्तिँदैन । त्यसै पनि मानव जीवन आस्था हो, विश्वास हो । बहस होइन । कसैले भनेका छन– मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस् । लेख्नुअघि दुईपल्ट सोच्नुस् । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस् । संसारमा सवैभन्दा मूल्यवान तरल पदार्थ आँसु हो । जसमा १ प्रतिशत पानी ९९ प्रतिशत भाव हुन्छ । त्यसैले आँसु होइन, हाँसको खेती गरौँ ।

[email protected]

प्रतिकृयाहरु
Loading...