नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोनाकाे शंका

काठमाडौं । नेपालमा परिबर्तित स्वरुपकाे काेराेना भाइरसका तीनजना शंकास्पद संक्रमित भेटिएका छन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा नमूना परीक्षणको क्रममा तीनजना शंकास्पद संक्रमित भेटिएका हुन् ।

‘मेरो जानकारीमा आएअनुसार तीन जनामा नयाँ प्रजातीको कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको छ । उहाँहरु शंकास्पद हुनुहुन्छ’, डा. पाण्डेले मकालु खबरसँग भने, ‘त्यसलाई निर्क्यौल गर्न नमूना हङकङ पठाउने तयारी भइरहेको छ ।’

उनीहरुकाे नमूना आउँदो हप्ताभित्र हङकङ विश्वविद्यालयको प्रयोगशालामा पुर्याउने तयारी छ । नेपालमा परीक्षणकाे याे प्रणाली उपलब्ध नभएकाले हङकङ पठाउने तयारी रहेकाे डा. पाण्डेले बताए ।

बेलायतबाट फर्केका ७ जनामा कोरोना पोजिटिभ देखिएको र तीमध्ये ३ जनामा नयाँ प्रजातिको संक्रमणको संकेत देखिएको हो ।

पहिलो पटक बेलायतमा देखिएको यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक भएको विज्ञहरुले बताएका छन् ।  याे भाइरस भारतसहितका देशमा पनि फैलिसकेको छ ।

प्रतिक्रिया