सुवास नेम्वाङकाे निरिहता देख्दा दया लागेको छ : थापा

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले संसद विघटन हुँदा पनि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ चुप रहेकाे प्रति आपत्ति जनाएका छन् । थापाले नेम्वाङमाथि ‘संविधानमाथि कु हुँदा पनि नेम्वाङ चुँइक्क बाेल्न नसकेकाे’ टिप्पणी गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै थापाले तत्कालीन संविधानसभा अध्यक्ष रहेका नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु असंवैधानिक रहेकाे भन्दै जमेर बहस गर्नुपर्नेमा निरिहता देखाएकाेले आफूलाई उनीप्रति दया लागेको बताएका हुन् ।

प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ । म यतिबेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ,’ फेसबुकमा उनले लेखेका छन् । 

यस्तै उनले भनेका छन्- ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर-”श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो।मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन”भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ । अपसोच उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ । प्रश्नबाट भाग्नुभएको छ । आफैँले बनाएको संविधानमा ”कु” हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ ।’

नेता थापाले संविधान बनाएका संविधान सभाका नेता नेम्वाङले संविधानको पक्षमा उभिने साहस गर्न नसके पनि संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । उक्त कदम असंवैधानिक भएकाे भन्दै अहिले उनीविरुद्ध सत्तारूढ दलकै नेपाल-दाहाल समुहसहित प्रतिपक्षी दलहरूले समेत विराेध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया