मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

सोती घटनाका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको सोतीमा छ जनाको हत्या हुने गरी भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री निवास बलुवाटारमा सोती घटनाका पीडितसँगको भेटमा प्रधानमन्त्रीले देषीलाई कारबाही गर्ने कुरामा सरकारले कसैसँग मोलाइजा नगर्ने बताएका हुन् ।

कीर्तिपुर आन्दोलनले संयोजन गरेको प्रधानमन्त्रीको उक्त भेटमा मृतक छ जनाकै अभिभावक उपस्थित थिए । गत १० जेठमा अन्तरजातीय बिहेको नाउँमा भएको उक्त घटनामा नवराज विक र उनका पाँच जना साथीको हत्या भएको थियो ।

उक्त मुद्दा अदालतमा विचाराधीन रहेको छ । हत्यामा संलग्न पक्राउ परेका ३४ जनामध्ये ६ जनालाई अदालतले थुनामुक्त गरेको छ । अन्य छ जनालाई छोड्ने विषयमा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सर्वोच्चसम्म आइपुगेको छ ।

प्रधानमन्त्रीसँगको भेटमा मृतक नवराज विकका बुबा–आमा मुनलाल र उर्मिला, लोकेन्द्र सुनारकी आमा लक्ष्मी, टिकाराम नेपालीका बुबा सोभे, गणेश बुढाका बुबा पदमबहादुर, गोविन्द शाहीकी आमा भीमकुमारी र सञ्जु विककी आमा सविता उपस्थिति भएको कीर्तिपुर आन्दोलनका रामलाल विश्वकर्माले बताए । मृतकका अविभावक गत बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।

कुशल नेतृत्वले समाजवादसम्म पुग्न सकिन्छ : मन्त्री थापा

|गृहमन्त्री रामबहादु थापा ‘बादल’। फाइल फोटो|

गृहमन्त्री रामबहादुर थापाले उपयुक्त नीति, कार्यक्रम र कुशल नेतृत्वले नै समाजवादसम्म पु¥याउन सक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिले देश समाजवादोन्मुख रहेको उल्लेख गरे ।

उनले भने, “हामी समाजवाद निर्माणको चरणमा आइपुगेका छौँ, त्यसैले उपयुक्त नीति र नेतृत्व आवश्यक छ ।” हरेक परिवर्तनका लागि नीति र नेतृत्व आवश्यक रहेको भन्दै उनले भने, “उपयुक्त नेतृत्व कुन भन्ने विषयका उत्तर दिन हामी यहाँ भेला भएका हौँ” उनले भने, “प्रधानमन्त्री बन्न जनताको र पार्टी अध्यक्ष बन्न कार्यकर्ता कहाँ जानुपर्छ । जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ ।”

गुरूङ र पोखरेललाई हटाएर नेपाल–दाहाल पक्षले गण्डकी र लुम्बिनीमा तोक्यो नयाँ इन्चार्ज

सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशमा नयाँ इन्जार्ज तोकेको छ ।

नेपाल–दाहाल पक्षको आइतबार र सोमबार बसेको स्थायी समिति बैठकले लुम्बिनी प्रदेशको इन्चार्जमा युवराज ज्ञवाली र गण्डकी प्रदेशको इन्चार्जमा देवेन्द्र पौडेललाई तोकेको हो । गण्डकीका इन्चार्ज पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीका इन्चार्ज शंकर पोखरेललाई भने बैठकले हटाउने निर्णय गरेको एक नेताले बताए ।

पोखरेल र गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् । प्रम ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ । दुवै पक्षले एक(अर्काको विपक्षका नेता हटाएर आफ्नो पक्षका नेतालाई नियुक्ति दिइरहेका छन् । नियुक्ति र निलम्बनकै क्रममा गण्डकी र लुम्बिनीका इन्जार्ज हटाइएको हो ।

यस्तै नेपाल(दाहाल समूहले संसद विघटनको विरोधमाद प्रधानमन्त्री ओलीविरुद्ध देशव्यापी आन्दोलनलाई सशक्त बनाउने निर्णय पनि गरेको छ । यसअघि पनि सो समूहले ओलीविरुद्ध नाराबाजी गर्दै आएको छ ।

कोरोना अपडेट : सोमबार ४०३ संक्रमित थपिए, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । सोमबार मात्रै ५९४ संक्रमित निको कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये २ लाख ५५ हजार ८८ जना निको भइसकेका छन् । यस्तै गत २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार ८८५ पुगेको छ । आज ३४२ जना क्वारेन्टिनमा छन् भने ५ हजार २८९ जना सक्रिय संक्रमित छन् ।

त्रिभुवन विमानस्थलबाट ५० राउण्ड गोलीसहित आमाछोरा पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । झापा मेचीनगर–२ का अन्दाजी २२/२५ वर्षीय बद्रीहाङ राई र मुनादेवी राई पक्राउ परेको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरू आमा–छोरा हुन् ।

‘त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरु जाँचका क्रममा पक्राउ परेका हुन् । झोलामा लुकाएको अवस्थामा उनीहरूको साथबाट ५० राउन्ड नाइन एमएमको गोली बरामद भएको छ । अहिले दुवैलाई महानगरी प्रहरी वृत्त गौशाला लगिएको छ’, एसएसपी कुँवरले भने । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रचण्ड पत्नी सीतालाई उपचारका लागि भारत लगियो
प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बइ लगिएको छ । पत्नीको उपचारका लागि नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, छोरीहरू रेनु दाहाल र गंगा दाहाल पनि मुम्बइ गएका छन् ।

उनीहरू नेपाल एयरलाइन्सको उडानबाट आज बिहान ११ः२० बजे मुम्बई प्रस्थान गरेका हुन् । मुम्बइको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा सीताके उपचार हुने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

सम्झौता भएको १८ दिन बितिसक्दा पनि बङ्गलादेशले पठाएन मल
बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल सम्झौता भएको १८ दिन वितिसक्दा पनि ल्याउन ढिलाइ भएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बङ्गलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप प्रतीतपत्र खोलेर बङ्गलादेश पठाइसकेको जनाइएको छ । कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बङ्गलादेशलाई पठाइसकेको जानकारी दिएको छ । रासायनिक मल खरीदको अन्तिम सम्झौतानुसार बङ्गलादेशसँग प्रतिमेट्रिक टन १८ डलर कममा सम्झौता भएको छ ।

स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित पक्राउ
प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार नगदसहित २ जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपलिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलवस्तु वाडगंगा नगरपालिका–४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई ल्याएको उक्त रुपैयाँ फेला पारी चालक थारु र कारमा सवार अमित कुमारलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

६५ करोड बढी राजस्व छलीको आरोपमा १३ फर्म विरुद्ध मुद्दा
राजस्व अनुसन्धान विभागले झुट्ठा तथा नक्कली बिजक प्रयोग गरी ६५ करोड २८ लाख ५२ हजार ३ सय ८२ रुपैयाँ राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

विभागले सर्लाहीको धनकौल गाउँपालिका–६ बस्ने मुख्य कारोबारी प्रदीप साहसहित १० जना विरुद्ध उच्च अदालत पाटनमा आज सोमबार मुद्दा दर्ता गरेको हो ।

साहले आर।के।एम प्रालिलगायत कमजोर आर्थिक अवस्था भएका मजदुरको नाममा १३ वटा फर्म दर्ता गरी सबै फर्महरुको बैंक खाता सञ्चालन आफैले गर्ने गरी फर्महरुको नाममा नक्कली बिल विजिक जारी गर्ने गरेको खुलेको छ ।

विभिन्न फर्महरुको नाममा झुट्ठा तथा नक्कली बिल बिजक जारी गरी आव २०७३/७४ देखि २०७५/७६ सम्म मूल्य अभिवृद्धि करतर्फ २२ करोड ४९ लाख, आयकर तर्फ ३७ करोड ५८ लाख र लाभांश करतर्फ ५ करोड २० लाख रुपैयाँ राजस्व चुहावट भएको विभागले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

रोनाल्डोको दुई गोलमा युभेन्टसको फराकिलो जित
इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडीनेसलाई पराजित गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसले उडिनेसमाथि ४(१ को फराकिलो जित हात पारेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । रोनाल्डोले खेलको ३१औ र ७०औ मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक एक गोल गरेका थिए । त्यस्तै उडीनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए ।

यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै शीर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडी रहेको छ । त्यस्तै उडीनेसको भने १४ खेलमा १५ अंक रहेको छ र लिगको १३औ स्थानमा रहेको छ ।

जोर्जियामा ११,७८० भोट खोज्न चाहन्छु : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत ‘खोज्न’ भनेको कल रेकर्ड सार्वजनिक भएको छ । वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, ‘म मात्र ११,७८० भोट खोज्न चाहन्छु ।’

रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जोर्जियाको नतिजा सही भएको बताइरहेको सुनिन्छ । अन्य राज्यहरूसहित जोर्जियामा पनि जो बाइडनले जितेका छन् । बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएका छन् भने ट्रम्पले मात्र २३२ मत पाएका छन् । नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन् । सबै ५० वटै राज्यहरूले चुनावी नतिजालाई प्रमाणित गरिसकेका छन् । त्यसका लागि केहीले पुनः मतगणना गरेका थिए भने केहीमा कानुनी सुनुवाइ पनि भएको थियो ।

हालसम्म अमेरिकी अदालतहरूले बाइडनको जितलाई चुनौती दिने ६० वटा मुद्दाहरूलाई अस्वीकार गरिसकेका छन् । अमेरिकी कङ्ग्रेसले भने ज्यानुअरी ६ मा चुनावी नतिजालाई प्रमाणित गर्न बाँकी नै छ । डेमोक्र्याटिक उम्मेदवार बाइडनले ज्यानुअरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्ने छन् । राज्यका दुईजना सिनेटरहरू छान्नका लागि जोर्जियाका मतदाताहरूले मङ्गलवार मतदान गर्दैछन् । उक्त नतिजाले सिनेटमा शक्ति सन्तुलन कस्तो हुनेछ भन्ने यकिन गर्नेछ ।

यदि दुवै डेमोक्र्याटिक उम्मेदवारले जितेमा त्यहाँ रिपब्लिकन र डेमोक्र्याटहरूको सदस्य संङ्ख्या बराबर हुनेछ र डेमोक्र्याटिक उप-राष्ट्रपति उम्मेदवार कमला ह्यारिससँग निर्णायक मत रहनेछ । डेमोक्र्याटहरूले पहिले नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा वर्चस्व कायम गरिसकेका छन् ।

प्रतिक्रिया