प्रधानमन्त्री बन्न चुनाव जितेर आउन प्रचण्डलाई बादलको आग्रह

चितवन । नेकपा विभाजित भएपछि दुई समुहले शक्ति प्रदर्शन गर्दै आज सोमबार चितवनमा छुट्टाछुट्टै कार्यक्रम गरि अगुवा कार्यकर्ता भेला गरेको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलि र अर्का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समुहले छुट्टाछुट्टै स्थानमा भेला आयोजना गरेका हुन् ।

प्रचण्डको गृह जिल्ला भएकाले पनि कुन समूहको भेलामा बढी कार्यकर्ता हुने भन्ने विषय प्रमुख थियो । केन्द्रिय नेताहरुले के बोल्लान् भन्ने कुरा भन्दा पनि कस्कोमा कति सहभागी हुन्छन् भन्ने चासो सबैमा थियो । नेकपा अध्यक्ष ओली समूहले भरतपुर १२ स्थित स्मार्ट बैंक्वेट एण्ड रिसोर्ट गोन्द्राङमा भेला आयोजना गरेको थियो । उता प्रचण्ड नेपाल समुहले नेकपा भरतपुर पाटी कार्यालयमा भेला गर्यो । सरसर्ती दुवै कार्यक्रमलाई नियाल्दा केपी ओली समूहको भेलामा बढी कार्यकर्ता उपस्थित भएको देखिन्थो । सबैभन्दा धेरै संख्या अट्ने बैंक्वेट छानेर ओलि समुहले भेला आयोजना गरेको थियो ।

बैंक्वेटको ठूलो हलमा सहभागी नअटे पछि बाहिर बसेर कार्यकर्ता नेताहरुको भासण सुन्न बाध्य थिए । नेकपा अध्यक्ष प्रचण्डसंगै द्वन्द्वकालमा हिडेका हालका गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थितिलाई महत्वका साथ हेरिएको थियो ।

बादल हाल ओली समुहमा छन् । भेलालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले समाजबादको बाटोलाई ओली नेतृत्वको सरकारबाट मात्र सम्भव रहेको बताए । प्रचण्ड नेपाल समूहले पाटी चलाएको नभइ गुट चलाएको उनको आरोप थियो ।

नेकपा सचिवालय सदस्य समेत रहेका बादलले प्रचण्डलाई प्रधानमन्त्री बन्न चुनावले अवसर दिने भन्दै चुनाब जितेर आउन आग्रह गरे । प्रचण्डको प्रधानमन्त्री बन्ने माग छ नेता बादलले भने- ‘चुनावले अवसर दिएको छ, चुनाव जितेर आउनुस् ।’

यस्तै भेलालाई सम्बोधन गर्दै नेकपा नेता शंकर पोखरेलले नेकपा विभाजनको प्रमुख कारण प्रचण्डले पेस गरेको आरोपपत्र भएको बताए । नेता पौखरेलले प्रचण्ड र माधव नेपालभन्दा ओलीको राजनीतिक उचाइ अग्लो रहेको दावी समेत गरे ।

उता प्रचण्ड नेपाल समूहले आयोजना गरेको भेलामा जिल्लाका सबै पालिकाबाट कार्यकर्ता भरतपुर पुगेका थिए । ओली सरकारमै पर्यटनमन्त्री रहेर हालै राजीनामा दिएका नेकपा युवा नेता योगेश भट्टराई प्रमुख वक्ताको रुपमा थिए ।

प्रचण्ड नेपाल भेलामा खरो वक्ताको रुपमा लिइने भीम रावल आउने कार्यक्रम रहेपनि उनको उपस्थिति रहेन । सो भेलामा रामकुमारी झाँक्री, नारायण दाहाल लगायतले सम्बोधन गरे । भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले मानसिक सन्तुलन गुमाएको समेत टिप्पणी गरे ।

पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले गरेको भाषणप्रति इंगित गर्दै नेता भट्टराईले ओली बेहोसीमा रहेको बताए । आफूहरुको समूहमा बहुमत रहेकाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको उनको आरोप थियो ।

प्रतिक्रिया