लामो समयपछि वर्षा, किसान खुशी

बैतडी । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् ।

मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका(१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए ।

‘यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ’, उनले भने, ‘यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ ।’ वर्षाले गहुँलगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्‍याएकाे पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए ।

‘लामो समयको खडेरीपछि परेको पानीले केही मात्रामा भए पनि बालीनालीका लागि राम्रो भएको छ’, उनले भने, ‘यो वर्षापछि बेँसी र टार क्षेत्रमा गहुँसमेत छर्न सकिनेछ, गहुँबाली छर्न बाँकी रहेका क्षेत्रमा यो वर्षाले गहुँबाली छर्नका लागिसमेत सहयोग पुग्छ ।’

बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । आठ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली छरेका छैनन् । यो वर्षापछि केही ठाउँमा गहुँ छर्ने तयारीसमेत भएको छ ।

यसैबीच हिउँदे वर्षाले चिसोसमेत बढाएको छ। चिसो बढेसँगै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। चिसोको समयमा विभिन्न खालका स्वास्थ्य समस्या आउन सक्ने भएकाले चिसोबाट बच्नुपर्ने स्वास्थ्य का र्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनले भने, ‘यो समयमा बालबालिकालाई निमोनिया, वृद्धवृद्धालाई श्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्ने भएकाले अनावश्यकरूपमा घरबाहिर ननिस्कन, घरमै आगो बालेर बस्न र न्यानो लुगा लगाउन आग्रह गरेका छौँ ।’ चिसोको समयमा कोरोना भाइरसको जोखिमसमेत बढी हुने भएकाले चिसोबाट बच्न आग्रह गरिएको छ । –रासस

प्रतिक्रिया