व्यवसायी भन्छन्- चुप बस्ने हाेइन, अब कोराेनासँग लड्नुपर्छ

काठमाडाैं । कोरोनापछि थिलोथिलो परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन कोरोनासँग डराएर बस्न नहुने व्यवसायी तथा सरोकारवालाहरुले बताएका छन् ।

कोरोनाको डरलाई विस्तारै जित्दै गएकाले अव पर्यटन गतिविधी बढाउनु पर्ने उनीहरुको भनाइ छ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन नेपाल सौराहा (रेवान) को आज आइतबार आयोजित १४ औं वार्षिक साधारण सभामा सहभागीहरुले यस्तो बताएका हुन् ।

रेवान सौराहाका पूर्व अध्यक्ष समेत रहेका रत्ननगर ७ का वडाध्यक्ष लालबहादुर भट्टले कोरोना भाईरस संक्रमण छ भन्दैमा चुप लागेर बस्न नहुने बताए । ‘स्वास्थ्य सुरक्षा अपनाएर निर्वाद रुपमा व्यवसाय सञ्चालन गर्नुपर्छ,’ भट्टले भने, ‘चुप लागेर बस्दा व्यवसाय संकटमा छ, कोरोनासँग लडेर पर्यटन गतिविधि गर्नुपर्छ ।’

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले कोरोनाका कारण पर्यटक आउन चुनौती रहेपनि स्वास्थ्य मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । ‘एक वर्ष अझै विदेशी पर्यटक आउने सम्भावना छैन । पर्यटन क्षेत्रमा ठुलो लगानी छ, त्यसलाई डुब्नबाट जोगाउन, आन्तरिक पर्यटन प्रवर्द्धन गरेर क्रियाकलाप बढाउनुपर्छ,’ अध्यक्ष भट्टराईले भने ।

मुलुकको पूर्वी क्षेत्रमा हालै गरिएको घुमौ सौराहा अभियानले केही मात्रामा पर्यटक aढेको उनको दावी थियो । केन्द्रिय रेवानका कोषाध्यक्ष नरेशध्वज श्रेष्ठले पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए ।

श्रेष्ठका अनुसार नेपालमा वार्षिक ९ लाख पर्यटक भित्रदा नेपालबाट १२ लाख पर्यटक वाहिर घुम्न जाने गरेका छन् । ‘मुलुक आउने भन्दा बाहिर जाने पर्यटकको संख्या अत्याधिक छ’, कोषाध्यक्ष श्रेष्ठले भने, ‘स्वदेशमै आन्तरीक पर्यटकलाई राख्न सकिए,त्यसले पर्यटन क्षेत्र सुरक्षित बन्छ ।’

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले कोरोनाबाट सौराहा सुरक्षित रहेकाले पर्यटकलाई यहाँ आउन आग्रह गरे । कोरोनाबाट सौराहा यसै सुरक्षित छ । विस्तारै यसको डर घट्दै गएको छ, सौराहा आउन हिचकिचाउनु पर्ने कारण छैन, मेयर वनले भने । मेयर वनले सौराहाका व्यवसायीलाई नयाँ आकर्षण थप गरि पर्यटक तान्ने योजना वनाउन समेत आग्रह गरे ।

रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष पुरु खनाल, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत वहादुर तामाङ,रेवान सौराहाका प्रथम उपाध्यक्ष नरेश गिरी लगायतले मन्तव्य राखेका थिए ।

सोही अवसरमा गत वर्ष आयोजित सौराहा फुडफेस्टिवलको आयव्यय सार्वजनिक गरिएको थियो । फेस्टिवलका संयोजक ध्रुव गिरीले आय-व्यय सार्वजनिक गरे भने महासचिव कृष्ण भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया