शेयर बजारमा कीर्तिमानसहित नयाँ बर्षको स्वागत

काठमाडाैं । नेपाली शेयरको कारोबार मापन गर्ने नेप्से परिसूचकले नयाँ कीर्तिमान सहित सन् २०२१ लाई स्वागत गरेको छ । सन् २०२१ मा कारोबार भएको पहिलो दिन आइतबार नेप्से ८८ दशमलव १२ अंकले बढेर अहिलेसम्मकै उच्च विन्दु २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा पुगेको हो ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार २१२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार कित्ता शेयर किनबेच भएको छ । अघिल्लो कारोबार दिन अर्थात गएको बिहीबार ५ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

कारोबार भएका सबै समूहका सबै परिसूचकमा हरियाली आएको दिन जीवन विमा समूहको परिसूचक सबैभन्दा धेरै ५५० दशमलव ९ अंकले बढेको दिन निर्जिवन विमा २६८ दशमलव ४, उत्पादन २ सय ६४ दशमलव ४, ब्यापार २ सय २१ दशमलव ५, र बैंकिङ समूह ७० दशमलव ९ अंकले बढेको छ ।

आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । एनएलआईसीको ५० करोड ९५ लाख रुपैयाँबराबरको शेयर खरिद-बिक्री भएको नेप्सेले जनाएको छ । त्यसैगरी, प्राइम बैंकको ५० करोड २६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आइतबार, हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, नेपाल पुनर्बीमा कम्पनी र प्राइम कमर्शियल बैंकको साधारण तथा संस्थापक शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । समग्र बजार बढेपनि आइतबार राधी विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर, युनाइटेड फाइनान्स लगायत कम्पनीको शेयर मूल्य भने घटेको छ ।

प्रतिक्रिया