वर्षा र चिसोका बिच दिल्लीमा किसानको विरोध प्रदर्शन

काठमाडौं । भारतमा किसान आन्दोलनको आज ४० औँ दिन पुगेको छ । आज चिसो पनि उतिकै बढेको छ । मौसम विभागका अनुसार दिल्लीमा गएको शुक्रबार पछिल्लो १६ वर्षयताकै उच्च जाडाे थियाे ।

त्यसपश्चात् शनिबार र आइतबार वर्षाले किसानका लागि झनै समस्या सिर्जना गर्यो । त्यहाँको मौसम विभागका अनुसार तीन दिनसम्म अझै वर्षा हुन सक्छ । सोमबार असिना पर्ने समेत सम्भावना रहेको छ ।

हावाको गति शनिबार औसत १५ किलोमिटर प्रतिघण्टा थियो भने सोमबारसम्म २५ किलोमिटर प्रतिघण्टा हुन सक्ने समेत मौसम विभागको अनुमान छ । वर्षापछि हावामा आद्रताका कारण प्रदुषण स्तर पनि बढेको छ । शनिबार दिल्लीको हावाको गुणस्तर अनुक्रमणिका ४४३ रहेको थियो ।

यस्तो मौसमका बाबजुद किसान अहिले पनि दिल्लीको सीमानामा डटेर आन्दोलनमा लागि परिरहेका छन् । शनिबार भएको हल्का वर्षाका कारण धर्नास्थलमा अव्यवस्थित माहोल बनेको छ । वर्षाका कारण किसानको बासस्थान, खाना बनाउने ठाउँ समेत भिजेको छ । हिलोका कारण पालहरुबाट पानी चुहिन थालेको छ ।

एक किसानले भने, ‘काठ पनि भिजेका कारण खाना बनाउन मुश्किल भइरहेको छ । हामीले केही नभिजेको काठ र ग्यास सिलिण्डरबाट काम चलायौँ । खाना बाँड्ने बेलामा झन् ठुलो समस्या भयो, किसान बस्ने सुकुल समेत भिज्यो । पालबाट पानी चुहिन थाल्यो ।’

कृषि कानून विरुद्ध आन्दोलनरत् एक अर्का किसानले भने, ‘हामी यस्ताे खराब माैसममा पनि आफ्नाे परिवारसँग टाढा रहनु परेकाे छ । हामीलाई आशा छ कि सरकार हाम्राे माग सुन्नेछ र पुरा गर्नेछ ।’

प्रतिक्रिया