के निर्णय गर्ला कांग्रेस केन्द्रीय समिति बैठकले ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसबारे औपचारिक धारणा र रणनीति तय गर्न रणनीति बनाउन कांग्रेस पुस ७ गतेदेखि केन्द्रिय समितिको बैठक बोलाएको हो ।

कांग्रेसले सरकारको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक भनेको छ । यसअघि पुस १३ गते उक्त कदमविरुद्ध १६५ निर्वाचन क्षेत्रबाट विरोध गरेको थियो । यद्यपी कांग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

तर, प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कदम विरुद्ध कांग्रेसमा एकमत रहेको बताएका छन् । ‘कांग्रेस असंवैधानिक र अलोकतान्त्रिक कदमको विपक्षमा छ, यदि त्यसो होइन भने किन सर्वदलीय बैठक राखिन्थ्यो ? १३ गते किन देशभर विरोध प्रदर्शन गरिन्थ्यो ?,’ शर्माले भने- ‘बाहिर आएका सबै कुरा सत्य नै हुन् भन्ने आधार छैन, हामी दबाबमूलक आन्दोलनमा छौं ।’

आजको बैठकले पनि सरकारको कदमविरुद्ध थप रणनीति तय गर्ने उनले बताए । साथै देशको पछिल्लो राजनीतिक अवस्था र कांग्रेको महाधिवेशनबारे पनि बैठकमा विमर्श हुनेछ ।

प्रतिक्रिया