मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली
पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन्।

जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा उनले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताए।

“सरकारले रणनीतिक योजना बनाउने काम मात्र गरेको छैन” भन्दै उनले सरकारले जनताका मसिनामसिना काम पनि गरेको तर पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत भएको बताए ।

थप ४१९ जनामा कोरोना सङ्क्रमण पुष्टि

सांकेतिक तस्वीर। मकालु खबर।

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४१९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो समय देशभरका प्रयोगशालामा पाँच हजारको नमूना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुष गरी ४१९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६१ हजार ४३८ पुगेको छ । पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७५० छन् । योसँगै नेपालमा हालसम्म उपचारपछि निको भएर घर फर्किनेकोे सङ्ख्या दुई लाख ५३ हजार ८७५ पुगेको छ । नेपालमा कोरोना सङ्क्रमण निको हुने दर ९७ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर अहिले पाँच हजार ७११ सक्रिय सङ्क्रमित छन् । तिनीहरुमध्ये ३६७ क्वारेन्टिनमा छन् भने अन्य आइसोलेशनमा छन् । मुलुकमा हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६८ महिला र ७६ पुरुष छन् ।

पछिल्लो २४ घण्टामा थप छ जना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८७० पुगेको मन्त्रालयले जनाएको छ ।

संविधानको धारा ७६ (७) अनुसार संसद विघटन गरेको ओलीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ७ अनुसार संसद विघटन गरेको बताएका छन् । नेकपा काठमाडौले गरेको ‘वृहत कार्यकर्ता भेला’ लाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार संविधानले प्रत्याभूत गरेकाले आफूले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विगठन गरेको बताएका हुन् ।

ताजा जनादेशले देशलाई नयाँ दिशा दिने ओलीले दाबी गरे ।प्रधानमन्त्री ओलीले दोहोरोअंकमा सिट जितेर देखाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई चुनौती पनि दिए । दाहाल–नेपाल पक्षले आफूहरुसँग बहुमत भएको बताएको तर कोसँग बहुमत छ भनेर आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा थाहा हुने पनि ओलीले बताए । उनले भने, ‘कसको बहुमत छ त्यो बैशाखमा हेरौँ ।’ ‘उहाँहरुको नारा र कृत्य देख्नेहरुलाई लाज लागिसक्यो’, ओलीले थपे, ‘तर गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन ।

कमरेडहरुको जंगली महत्वकांक्षाका कारण दूर्भाग्य निम्तियो : ईश्वर पोखरेल
उपप्रधानमन्त्री एवम् नेकपा केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले अन्य नेकपा नेताको जंगली महत्वकांक्षाका कारण दूर्भाग्य निम्तिएको बताएका छन् ।

काठमाडौं जिल्ला कमिटीद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भनेका छन्, ‘केही कमरेडहरुको जंगली महत्वकांक्षाका कारण दूर्भाग्य निम्तियो ।

मलाई यो आरोप लगाइरहँदा दुःख लागेको छ । जंगली महत्वकांक्षा पूर्ति गर्नको जस्तोसुकै कदम चाल्ने दुष्साहसी मनस्थितिका कारण यो अवस्था आयो ।’

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ प्रकाशले असंवैधानिक कदमविरुद्ध आन्दोलनको घोषणा गरिएको जानकारी दिए ।

संसद विघटनपछि सडकमा आएको प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन ।

प्रधानमन्त्रीलाई घेरावन्दीमा पारेपछि संसद विघटन गर्नुपर्यो : चौधरी

दुहवी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरी क्षेत्र नं. ३ ले आज पार्टी भित्रको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा कार्यकर्ता भेटघाट तथा विषेश अन्तरक्रिया गरेको छ ।

नेकपा सुनसरी क्षेत्र नं. ३ द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य भगवती चौधरीले नेकपाको सरकार ढाल्नेसम्मका सड्यन्त्र पार्टीभित्रै हुन थालेपछि बाध्यतावस प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको प्रष्ट्याइन् ।

कार्यक्रममा बोल्दै नेतृ चौधरीले पार्टीका शीर्ष नेतृत्व देशी विदेशी सड्यन्त्रमा परेर जनताले दिएको जनमतको अवमुल्यन गर्दै प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने काममा लाग्नाले अहिलेको परिस्थिति सृजना भएको बताइन् ।

‘प्रधानमन्त्रीलाई कामै गर्न नदिने, खुट्टा तान्ने, लडाउने वाहेक शीर्ष नेतृत्वबाट केही हुन सकेन । पार्टी एकीकरणका कामहरु अगाढी बढाउन छाडेर सरकार दुई तिहाईको सरकार नै ढाल्ने हर्कत गर्न थालेपनि प्रधानमन्त्रीले पुनः जनताका माझ जाने निर्णय लिनु भएको हो ।’ नेतृ चौधरीले भनिन् ।

रक्षा विधेयक रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याएको भिटो खारेज
काठमाडौं । अमेरिकी कंग्रेसले रक्षा खर्च कोषमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरिदिएको छ । ​ रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको सिनेटले नयाँ वर्षको पहिलो दिन दुर्लभ सत्र आयोजना गरेर रक्षा खर्च कोषमा राष्ट्रपति ट्रम्पले प्रयोग गरेको भिटो खारेज गरिदिएको हो ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभमा ट्रम्पको भिटोमा यसअघि नै मतदान भएको थियो । ७४० अर्ब डलरको यो विधेयक मार्फत आउँदो एक वर्षसम्म अमेरिकी रक्षा नीतिमा खर्च गरिने बताइएको थियो । अब केही हप्तामा पद छोड्न लागेका राष्ट्रपति ट्रम्पले यो विधेयकको केही प्रावधानमा विरोध जनाएका थिए ।

सिनेटले ८१–१३ को मत विभाजनबाट नेशनल डिफेन्स अथोराइजेशन एक्ट पारित गरेको हो । राष्ट्रपतिको भिटो खारेज गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ । यो घटनाक्रम नयाँ कंग्रेसको शपथ लिनु दुई दिन अघि भएको हो । राष्ट्रपति ट्रम्पले अफगानिस्तान र यूरोपबाट अमेरिकी सैनिक हटाउनेको संख्या सीमित गर्ने नीतिको विरोध गरेका छन् ।

पार्टी एकता अभियान चलाउँछौं : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै गौतमले अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाइ छ ।

अब संगठित रुपमै पार्टी एकता अभियान अगाडि बढाउने उनले जानकारी दिए । आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन उपाध्यक्ष गौतमको दावी छ । देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको समेत उनले उल्लेख गरे ।

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने
रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पुर्याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिडिइ राजेन्द्र पन्तले जानकारी दिए ।

जर्मनीबाट आएका चारजना प्राविधिकले आयोजनाको निरीक्षणका साथै डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन गरी सकेको हुँदा अन्तिम प्रतिवेदन प्राप्त हुन बाँकी रहेको छ । प्राप्त प्रतिवेदनलाई नेपाली प्राविधिज्ञ र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने कार्यक्रम रहेको छ । पानी राखेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोषजनक देखिएपछि मात्र राजधानी पठाइने हुँदा चैतसम्मको समय लाग्ने सूचना अधिकारी पन्तले बताए ।

गत असारमा फुटेका दुईवटा ढोकालाई भारतीय कम्पनीबाट जडान भइसकेको हुँदा सुरुङको ९९ प्रतिशत काम सम्पन्न भएको छ । हेलम्बुको अम्बाथानस्थित मुहानमा हेडबक्र्स (बाँध)को काम भने ९० प्रतिशत मात्र सम्पन्न भएको छ । बाँधको साथै पुलसमेत बनाउनुपर्ने भएकाले समय लाग्ने आयोजनाले जनाएको छ ।

एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा करिब रु ३३ अर्ब लाग्ने आयोजनाको जटिल मानिने २७ किलोमिटर सुरुङ तीन वर्षअघि सम्पन्न भइसकेको छ । दैनिक १७ करोड लिटर पानी राजधानी पुर्याईने उक्त आयोजना पटकपटक पछि धकेलिँदै विभिन्न व्यवधान पार गरी अब भने सम्पन्नको अन्तिम चरणमा पुगेको छ ।

शीर्ष स्थानको लिभरपुलसँग म्यानचेस्टर युनाइटेडले गर्‍यो अंक बराबरी

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती भएको खेलमा युनाइटेडले भिल्लालाई २(१ गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियल र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए । त्यस्तै भिल्लाका लागि बेरट्रान्डले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडले शिर्ष स्थानमा रहेको लिभरपुलसँग बराबरी गरेको छ । अब दुवै टिमको १६ खेलमा ३३(३३ अंक रहेको छ । गोल अन्तरका आधारमा लिभरपुल शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा रहेको छ । त्यस्तै एस्टन भिल्लाको भने १५ खेलमा २६ अंक रहेको छ र लिगमा छैठौ स्थानमा रहेको छ ।

गएराती नै भएको अर्को खेलमा वेस्टह्यामले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको छ । यो हारपछि एभर्टनको १६ खेलमा २९ अंक छ भने लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै वेस्टह्यामको १७ खेलमा २६ अंक छ भने लिगमा १०औ स्थानमा रहेको छ ।

प्रतिक्रिया