प्रधानमन्त्रीलाई घेरावन्दीमा पारेपछि संसद विघटन गर्नुपर्यो : चौधरी

दुहवी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुनसरी क्षेत्र नं. ३ ले आज पार्टी भित्रको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा कार्यकर्ता भेटघाट तथा विषेश अन्तरक्रिया गरेको छ ।

नेकपा सुनसरी क्षेत्र नं. ३ द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य भगवती चौधरीले नेकपाको सरकार ढाल्नेसम्मका सड्यन्त्र पार्टीभित्रै हुन थालेपछि बाध्यतावस प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको प्रष्ट्याइन् ।

कार्यक्रममा बोल्दै नेतृ चौधरीले पार्टीका शीर्ष नेतृत्व देशी विदेशी सड्यन्त्रमा परेर जनताले दिएको जनमतको अवमुल्यन गर्दै प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने काममा लाग्नाले अहिलेको परिस्थिति सृजना भएको बताइन् ।
‘प्रधानमन्त्रीलाई कामै गर्न नदिने, खुट्टा तान्ने, लडाउने वाहेक शीर्ष नेतृत्वबाट केही हुन सकेन । पार्टी एकीकरणका कामहरु अगाढी बढाउन छाडेर सरकार दुई तिहाईको सरकार नै ढाल्ने हर्कत गर्न थालेपनि प्रधानमन्त्रीले पुनः जनताका माझ जाने निर्णय लिनु भएको हो ।’ नेतृ चौधरीले भनिन् ।

नेकपा विभाजनको अवस्थामा आउनुमा प्रधानमन्त्री भन्दापनि पार्टीका अर्का अध्यक्ष र शीर्ष नेताहरु बढि जिम्मेवार रहेको तर्क गर्दै चौधरीले अब पुनः जनताका घरदैलोमा गएर जनमत बटुल्नुपर्ने र त्यसकालागि कार्यकर्ताहरु सक्रिय हुनुपर्ने बताइन् । सरकारले विषम परिस्थितिमा पनि सोचे अनुसार काम गरेको तर्क गर्दै उनले सरकारलाई सहजरुपमा काम गर्न दिए संमृद्ध मुलुक सुखी नेपालीको सपना साकार हुने बताइन् । ‘संघियता कार्यान्वयनसँगै सरकारले समृद्ध नेपाल सुखी नेपाली अभियानमा काम गर्दै थियो । तर, मुलुकमा स्थायीत्व नचाहने, जनता सुखी र खुसी भएको हेर्न नचाहनेहरुले पार्टीभित्रै प्रधानमन्त्रीलाई घेरावन्दीमा पारे ।’ चौधरीले भनिन् ।

उनले अब ताजा जनादेशमा जानुको विकल्प नभएको बताउँदै को सहि को गलत जनताले जनमतद्वारा छिनोफानो गर्ने बताइन् ।

अन्तरक्रियामा बोल्दै नेकपा केन्द्रीय सदस्य तैयव हुसेनले जनमतको अपहेलना गर्ने कार्य प्रचण्ड–नेपाल पक्षबाट भएको बताए । उनले लोकतान्त्रिक अभ्यासमा जनताभन्दा ठूलो कोही नहुने भन्दै ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णय यहि भएको बताए ।

अर्का केन्द्रीय सदस्य मुरारी सुवेदीले राजनीतिक अस्थिरता निम्त्याएर शीर्ष नेताहरुले इतिहासमै पहिलो पटक बनेको दुई तिहाईको कम्युनिस्ट सरकार ढाल्ने सड्यन्त्र गरेर मुलुक र जनताप्रति गद्दारी गरेको बताए । उनले देशी विदेशी शक्तिहरुको लालचामा लागेर जनताको अभिमत लत्याउने काम भएकोले त्यस्ता नेताहरुलाई अब ताजा जनादेशबाट जनताले पाखा लगाउनु पर्ने बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रेवती भण्डारी, खेमराज पोखरेल, इटहरी नगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल, सुनसरी क्षेत्र नं. ३ क का प्रदेश सांसद लिलम बस्नेत लगायतले पछिल्लो राजनीतिक अवस्थाका बारेमा बोलेका थिए ।

प्रतिक्रिया