नन्दिनी सहकारीको वार्षिक कारोवार ९ करोड

चितवन । चितवनको खैरहनी १० शान्तिवजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले एक वर्षमा ९ करोड भन्दा बढिको कारोबार गरेको छ ।

संस्थाको शनिवार आयोजित २४ औं वार्षिक साधारण सभामा दिईएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा ९ करोड १ लाख ९० हजार रुपैयाँ बरावरको कारोबार गरेको हो । डिडिसी, निजी डेरी उद्योग, स्थानीय बिक्री, दुग्धजन्य पदार्थ बिक्री, नौनी बिक्री, टिएस कमिसन, पशु आहार बिक्री, अतिरिक्त थप, प्रदेश सरकारबाट उत्पादन अनुदान लगायतको शीर्षकमा उक्त रकमको कारोबार भएको संस्थाका व्यवस्थापक लिलाबहादुर थपलियाले बताए ।

एक वर्षमा दुध बिक्रीबाट मात्रै ५ करोड ७९ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको थपलियाले जानकारी दिए । पशु आहार २ करोड ३७ लाख बरावरको कारोबार भएको छ ।

एक वर्षको अवधिमा ६७० वटा पशु पशुधन सुरक्षण गरिएकोमा २४ वटा पशुधनको क्षती वापत १० लाख ९४ हजार ५ सय रुपैयाँ पशुधनी कृषकलाई वितरण गरिएको संस्थााका अध्यक्ष कमलराज थपलियाले बताए । यस वर्षदेखि प्रिमियम बापत प्राप्त हुने रकम सरकारले हटाएकाले यसलाई निरन्तरता दिन साधारण सभाले माग गरेको अध्यक्ष थपलियाले बताए । सरकारले चितवनको टिकौली पूर्व यो बीमा कार्यक्रम हटाएको छ ।

यो कार्यक्रम लागू हुँदा १ लाख बरावर पशुको बीमा गर्दा किसानले १ हजार २५० रुपैया लगानी गर्दा सरकारले ३ हजार ७५० रुपैया प्रदान गर्दै आएको थियो । खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीको विषेश उपस्थितीमा भएको साधारण सभामा केन्द्रीय दुग्ध उत्पादक संघका सदस्य वालकृष्ण उप्रेतीले बीमा मार्फत सरकारले प्रदान गर्दै आएको प्रिमियम रकमलाई निरन्तरता दिनु पर्ने, पशुपालनलाई व्यवसायलाई दिगो बनाउन दुग्धजन्य पदार्थ उत्पादनमा जोड दिनु पर्ने बताए ।

नन्दिनी दुग्ध उत्पादक सहकारीले दुधको विविधिकरणका लागि डेरी उद्योग निर्माण गरेको छ । उद्योग निर्माणका लागि खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा २० लाख रुपैयाँ अनुदान दिएकोमा बागमती प्रदेश सरकारले उपकरण खरिदका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

साधारण सभामा गुणस्तर तथा अध्याधिक दुध ल्याउने किसान, २५ जना शेयर सदस्य, एसईईमा उत्कृष्ट अंक ल्याउने किसानका ५ जना छोराछोरीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा लेखा समिति संयोजक श्यामनारायण फुयाँलले लेखा परिक्षण प्रतिवेदन,संस्थाका उपाध्यक्ष सुशिल कडेंलले उद्योग निर्माणमा भएको आयव्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया