‘पार्टीभित्र समस्या हुँदा संसद विघटन गर्ने ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको समस्याका कारण संसद विघटन गरेको बताएका छन् । शुक्रबार प्रारम्भ भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद देवले यस्तो बताएका छ्न ।
पार्टीभित्रको समस्या पार्टीभित्रकै आन्तरिक समस्या हुने बताउँदै सांसद देवले भने, ‘पार्टीभित्र समस्यामा पर्ने अनि संसद् विघटन गर्ने ? देशलाई खाल्डोमा जाक्ने ? दुनियाँमा कसैले पनि सोच्न सक्दैनन् यस्तो कुरा । यस्तो काम गर्दै गर्दैनन् । तर, प्रधानमन्त्रीले अधिकार नभएको काम गर्नुभयो ।’
यस्तै सांसद देवले प्रधानमन्त्रीको कदमले देश राजनीतिक दुर्घटनाको विन्दुमा पुगेको बताएका छन् । प्रधानमन्त्रीले संविधानले प्रत्याभूत नगरेको अधिकारको प्रयोग गरी राजनीतिक दुर्घटना निम्त्याएको बताउँदै भनेका छन्, ‘प्रधानमन्त्रीले देशलाई राजनीतिक दुर्घटनाको विन्दुमा जाक्नुभयो ।’








