दुग्ध उत्पादक सहकारीहरुलाई क्रिम सेपरेटर वितरण

चितवन । उत्पादित दुध बिक्री नहुने अवस्थालाई मध्यनजर गर्दै चितवनको राप्ती नगरपालिकाले दुग्ध उत्पादक सहकारीहरुलाई क्रिम सेपरेटर वितरण गरेको छ ।
मिल्ड होलिडे हुँदा राप्तीको भण्डारामा बाटोमै दुध पोखिएको थियो भने लकडाउनका बेला दुध फाल्नुपर्ने अवस्था थियो । कुनै पनि बेला उत्पादित दुधले बजार नपाएको खण्डमा दुधबाट क्रिम बनाउन उक्त उपकरण सहकारीलाई प्रदान गरिएको राप्ती नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख पशु चिकित्सक शैलेन्द्र भण्डारीले जानकारी दिए ।
नगरभित्र ६ वटा दुग्ध उत्पादक सहकारी संस्था छन् । उनीहरुलाई एक/एक थान क्रिम सेपरेटर वितरण गरिएको उनले बताए । बाेलपत्र मार्फत् प्रति थान ९० हजार रुपैयाँमा खरिद गरिएको हो । सो उपकरणले प्रति घण्टा ५५० लिटर दुधबाट क्रिम निकाल्ने पशु शाखा प्रमुख भण्डारीले बताए । दुधमा ४ देखी ८ प्रतिशत सम्म फ्याट आउने, ८ लिटर दुधबाट १ किलो क्रिम उत्पादन हुने पनि भण्डारीले जानकारी दिए । एक किलो क्रिमको आठ सय रुपैयाँसम्म पर्छ ।
राप्तीमा परेवाश्वरी, भण्डारा, नवउद्यमी, शहिद बलराम, जनमुखी र भगवती दुग्ध उत्पादक सहकारी छन् । ति सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुलाई राप्ती नगरपालिका प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामाले क्रिम सेपरेटर हस्तान्तरण गरे । सो अवसरमा नगर प्रमुख बरालले मिल्क होलिडे हुने अवस्थामा क्रिम सेपरेटरको प्रयोगले किसानको दुध खेर जान नपाउने बताइन् । प्रमुख बरालले दुधजन्य पदार्थ उत्पादन गर्नका लागि नगरपालिकाले उद्योग स्थापना गर्न सम्झौता गरिसकेको समेत जानकारी गराइन् ।
यस्तै उपप्रमुख लामाले किसानको विकास विना नगरको समृद्धी नहुने बताए । नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समिति संयोजक एवंम् भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले नगरपालिकाले अनुदानमा दिएको सो उपकरणले दुध फाल्नु पर्ने अवस्थाको अन्त्य हुने दाबी गरे ।
राप्तीमा दैनिक करिब २५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ । संयोजक थपलियाले कृषकमैत्री नगर बन्नुपर्ने भन्दै दुध उत्पादन वृद्धीका लागि काउम्याट, दुध उत्पादनमा अनुदान, गोठ सुधार कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।








