‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङ्गमा प्रतिनिधि सभा विघटन भएको कुरा घामजस्तै छर्लङ्ग’

काठमाडौं । निवर्तमान ऊर्जामन्त्री तथा नेकपा नेता वर्षमान पुन ‘अनन्त’ले राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङ्गमा प्रतिनिधि सभा विघटन भएको कुरा घामजस्तै छर्लङ्ग भएको बताएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको लुम्बिनी प्रदेश समिति बैठकलाई सम्बोधन गर्न बुटवल पुगेका नेता पुनले यस्तो बताएका हुन् ।

संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवादउन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल र पूँजीपति रहेको उल्लेख गर्दै नेता पुनले भनेका छन्, ‘ओलीले निरङ्कुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिँड्नुभयो । राजा महाराजाको निरङ्कुशता नटिकेको नेपालमा ओली निरङ्कुशता धेरै दिन टिक्न दिँदैनौं ।’

यसैबीच नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेको आरोपसेत लगाए ।

संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्यूत भएको टिप्पणी गर्दै नेता पुनले राष्ट्रपतिको भूमिकाप्रति प्रश्न उठाएका छन् । ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङ्गमा प्रतिनिधि सभा विघटन भएको अब घामजस्तै छर्लङ्ग छ ।’

प्रतिक्रिया