खैरहनीमा नगर गौरव योजनाको काम तीव्र

- ध्रुवराज खनाल
चितवन । चितवनको खैरहनी नगरपालिकामा विकास निर्माणको काम धमाधम भइरहेको छ । चालु आर्थिक वर्षको असार अगावै सम्पन्न हुने गरि नगर गौरव योजनासहित अन्य योजनाको काम तीव्र रुपमा भइरहेको मेयर लालमणि चौधरीले बताए ।
‘कोरोना भाइरसले गत वर्ष केही ठुला योजनाहरु पनि हुन पाएनन्’, मेयर चौधरीले भने, ‘गत वर्ष र यो वर्षका नगर गौरवका योजनाहरुलाई असार अघिनै सक्ने गरि काम तीव्र पारिएको छ ।’
खैरहनीको नगर गौरव योजनामा परेका तीन वटा पुलको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । खैरहनी २ लदरी खोला, खैरहनी ९ चात्रा खोला र खैरहनी ७ र ९ लाई जोड्ने पम्फा खोलामा नगरकै लगानीमा पुल निर्माण भइरहेको मेयर चौधरीले बताए । सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा २ करोड २४ लाखको लागतमा पुल बन्दैछ ।

तटबन्धनसहितको पुल निर्माण गर्न लागिएको हो । केविसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरिरहेको छ । खैरहनी २ लदरा खोलामा १ करोड ९५ लाखमा जि.एम.आर कन्स्ट्रक्सन प्रालि भरतपुरले दु्रत गतिमा काम गरिरहेको छ ।
सो पुलको वटम स्लाव र पिल्लर ढलानको काम भईसकेको नगरपालिका योजना शाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए । त्यस्तै सडक वोर्डको गलत डिजाईनका कारण चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैले बनाउँदै छ । १ करोड ७ लाखमा सम्झौता भएको सो योजनाको अहिले फाउण्डेसनको काम भईरहेको इन्जिनियर श्रेष्ठले बताए ।

एम.आर एण्ड गु्रप डि.एन.वी जेवी भरतपुरलाई ठेक्का परेको हो । गत वर्ष खैरहनी नगरपालिकाले दुई वटा पुल बनाएको थियो । खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले नगर गौरव र अन्य योजनाका कामहरुको नियमित अनुगमन भईरहेको बताइन् । त्यस्तै शीत भण्डारको काम अन्तिम चरणमा पुगेको छ भने खोलाहरुमा अहिले झण्डैं ७ करोड बराबरको तटबन्धन र स्पर निर्माणको काम समेत भइरहेको छ । राप्ती नदिमा स्पर निर्माण काम भईरहेको छ भने लदरा,पम्फा र बुढीराप्ती खोलामा तटबन्धनको काम भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए ।








