खेलकुदले कोरोना परास्त गर्छ : राखेप उपाध्यक्ष कोइराला

काठमाडाैं । कोभिड १९ संक्रमणका कारण रोकिएको खेलकुद गतिविधि छिटफुट बाहेक अझै चल्न सकेको छैन । खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषदले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् । खेलाडी देखी खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवाज उठाइरहेका छन् ।
छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चलान हुन थालेका छन् । फुटबलदेखि क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडीले पनि जुरमुराइसकेका छन् । ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन् । भर्चुअल रुपमा केही प्रतियोगिता सुरु भएपनि कोभिड अगाडिको लय खेलकुदमा अझै देखिएको छैन ।
खेलकुद गतिविधिलाई निर्वाद रुपमा सचारु गर्न राष्ट्रिय खेलकुद परिषद तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताए । फुटबल, क्रिकेट लगायतका संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए ।
खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले खेलाडी पनि मानसिक रुपमा तयार हुनुपर्ने उनकाे भनाइ छ । खेलकुद गतिविधि स्वास्थको हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले प्रचार प्रसार गर्नुपर्ने उनले तर्क राखे ।
सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक हात पारेका करातेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए ।
अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुचारु भइसेका छन् । तर घरेलु प्रतियोगिता सुचारु गर्नेमा भने अझै अन्योल देखिएको छ ।








