मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

‘केपी ओली आफूले इतिहासको कलङ्कको टीका लगाए, हामीलाई जनतासँग जोडिदिए’
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपाका पहिलो वरीयता अध्यक्ष केपी शर्मा ओलीले इतिहासको कलङ्कको टीका लगाएको बताएका छन् ।

सोमबार जनसंगठनको कार्यालय पेरिसडाँडामा आफूनिकटको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

करोडौं जनताको अभिमतबाट निर्वाचित प्रतिनिधि सभालाई ओलीले रिस उठेपछि विघटन गरेको बताउँदै अध्यक्ष दाहालले आफूहरुलाई भने जनतासँग पुनः एकपटक जोडिदिने काम गरेको बताएका छन् । ‘केपी ओली आफूले त इतिहासको कलङ्कको टीका लगाए, हामीलाई चाहिँ जनतासँग एक पटक जोड्ने काम गरे’, अध्यक्ष दाहालले भनेका छन् ।

नेकपाको दुई तिहाईका कारण अदालत डरायो : सभापति देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे बोल्दै नेकपाको दुई तिहाईका कारण अदालत डराएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित विरोध प्रदर्शनका क्रममा उनले अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने समेत बताए ।
सभापति देउवाले विरोध कार्यक्रममा भने, ‘कम्युनिस्ट सरकारको दुई तिहाइका कारण अदालत केही डराएको जस्तो देखिएको छ । तर हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौँ ।’

उनले उक्त विषय अदालतमा विचाराधीन भएको भन्दै उनले धम्क्याएर, तर्साएर आफूहरुले निर्णयका लागि दबाब नदिने उनको भनाइ छ । कांग्रेसले संसद विघटनविरुद्ध आज देशैभर प्रदर्शन गरिरहेको छ ।

७१८ जना निको हुँदा कति थपिए कोरोना संक्रमित ?
सोमबार ७१८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएका छन् । यस्तै आज ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा ३६९ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार ४२७ रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । संक्रमितमध्ये २ लाख ५० हजार ५८१ जना निको भइसकेका छन् । यस्तै मृतक संख्या १ हजार ८३२ पुगेको छ । आज मात्रै थप ७ जनाको मृत्यु भएको छ ।

२१ दिनभित्र उखु किसानलाई भुक्तानी दिने सहमति, आन्दोलन स्थगित
आन्दोलनरत उखु किसान र सरकारबीच ४ बुँदे सहमति भएको छ । योसँगै किसानहरुले आन्दोलन स्थगित गरेका छन् ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाका अनुसार उक्त सन्दर्भको सहमति भएको हो ।

चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएका छन् । उनका अनुसार किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानूनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको हो ।

विद्यादेवी भण्डारीलाई रामवरण यादवबाट ‘ट्यूसन्’ लिन विश्वप्रकाशको आग्रह
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपति रामवरण यादवबाट ‘ट्यूसन्’ लिन आग्रह गरेका छन् ।

सोमबार कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा गरेको सरकार विरोधी प्रदर्शनअन्तर्गतको काठमाडौं क्षेत्र नं. २ कोटेश्वरको कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो आग्रह गरेका हुन् । खासगरी पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीबाट सिफारिस संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रतिनिधि सभा विघटनको गल्ती सच्याउन नसकेको औंल्याउँदै प्रवक्ता शर्माले यस्तो वाक्यांस बोलेका हुन् । ‘म आग्रह गर्न चाहन्छु । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपति रामवरण यादवबाट ट्यूसन् लिनुस् । तपाईँलाई राष्ट्रपतिको कामकारबाहीबारे राम्रो थाहा रहेनछ’, कांग्रेसको खुला सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले भने, ‘साँच्चै नै राष्ट्रपति हो भने प्रधानमन्त्रीबाट भएका गल्तीहरुलाई सच्याउन सक्नुपर्छ ।’

नेकपालाई दीर्घकालीन रुपमा मिलाउने अस्त्र चीनसँग छैन
राजनीति विश्लेषक पुरञ्जन आचार्यले चीनसँग नेकपालाई दीर्घकालीन रुपमा मिलाउन सक्ने कुनै अस्त्र नभएको बताएका छन् ।

सोमबार मकालु खबरसँग कुराकानी गर्दै विश्लेषक आचार्यले यस्तो बताएका हुन् । अहिलेको ४ सदस्यीय चिनियाँ टोलीप्रति इङ्गित गर्दै आचार्यले भनेका छन्, ‘चीनसँग नेकपालाई दीर्घकालीन रुपमा मिलाउन सक्ने अस्त्र छैन ।’

यस्तै उनले केही समयको लागि नेपाली नेताहरु मिलेपनि दीर्घकालीन रुपमा कहिल्यै नमिल्ने पनि बताए ।

अहिले निर्वाचन आवश्यक छैन : योगेश भट्टराई
सत्तारूढ नेकपाको दाहाल(नेपाल पक्षका नेता योगेशकुमार भट्टराईले अहिले मुलुकमा निर्वाचन आवश्यक नभएको धारणा राखेका छन् ।

प्रेस सङ्गठन नेपालले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले तत्काल निर्वाचन आवश्यक नभएको धारणा राखेका हुन् । यस्तै उनले नेपाल(दाहाल समूह एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने बताए ।

उनले भनेका छन् – ‘दाहाल(नेपाल समूह एकताकै पक्षमा छ । निर्वाचन अहिले मुलुकका लागि आवश्यक छैन । प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा हामी विश्वस्त छौँ’, उनले भने ।

नेकपा विप्लवले भन्यो– ‘सुरक्षा निकायप्रति आक्रमणको नीति छैन’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले संखुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा दोहोरो भीडन्त नभएको दावी गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको भनिएको दोहोरो भीडन्त नभएको दावी गरेको हो ।

पार्टीका प्रवक्ता प्रकाण्डद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा प्रहरी पुगेर घरपरिवारमाथि कुटपिट गरेको आरोप लगाइएको छ । ‘प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ( ‘हाम्रो पार्टी यस किसिमको ज्यादतीपूर्ण कार्यको घोर निन्दा र भत्र्सना गर्छ ।’

नेपाली फुटबल खेलाडी विमल र विक्रमको कतारमा उपचार गरिने
राष्ट्रिय फुटबल टोलीका घाइते खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल संघलाई अनुरोध गरेको थियो । कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार मगर र लामा घाइते भएपछि दुवैले बन्द प्रशिक्षण गुमाएका छन् । दुवै खेलाडी एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । घाइते भएका कारण उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राईले बताए । लामाको खुट्टाको चोट बल्झिएको छ ।

उनी थ्री स्टारबाट खेल्ने क्रममा तीन वर्षअघि घाइते भएका थिए । मगर भने बन्द प्रशिक्षणका क्रममा घाइते भएका हुन् । उनको घुँडामा गम्भीर चोट लागेको छ । यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई उपचारका लागि कतार पठाएको थियो ।

प्रतिक्रिया