तालिम र अवसर नकुरौँ, क्षमता देखाऔँ – मेयर चौधरी

चितवन । चितवनको खैरहनी नगरपालिकाले महिलाहरुका लागि नेतृत्व तथा क्षमता विकास तालिम सोमवारदेखी सुरु गरेको छ । पाँच दिने तालिमको खैरहनीका मेयर लालमणि चौधरीले उद्घाटन गरे ।
सो अवसरमा मेयर चौधरीले अवसर कुर्ने मात्र नभई आफ्नो क्षमता देखाएर अघि बढ्न आग्रह गरे । पुरुषले अवसर दिन्छन भनेर कुरेर वस्ने होईन मेयर चौधरीले भने ‘आफ्नो क्षमता देखाएर काम गर्न अग्रसर हुनुपर्छ ।’ महिलाले नेतृत्व गरेका हरेक काम सफल हुने समेत मेयर चौधरीले बताए ।
समृद्ध, शान्त, समुन्नत नगर बनाउनका लागि मेयर चौधरीले सामाजिक विकृतीको विरुद्ध लड्न, स्वास्थ्य, शिक्षा, वातावरण, सरसफाई, विकास निर्माण लगायत काममा जागरुक हुन पनि आग्रह गरे । साना तिना काम अरुले गरिदिन्छ कि भनेर कुरेर बस्नु भन्दा समस्या समाधानमा पहल गर्नुपर्नेमा उनकाे जाेड छ ।

नगरपालिका सामाजिक विकास समिति संयोजक समेत रहेका खैरहनी ७ का वडाध्यक्ष मनेजर महतोले सामाजिक तथा आर्थिक रुपमा पछि परेका महिलाहरुलाई जागरुक वनाउन तालिमले मद् पुर्याउने विश्वास व्यक्त गरे । वडास्तरका
संघसंस्था, टोल विकास संस्था र क्लवका ३० जना महिलाहरु तालिममा सहभागी छन् । तालिममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, सामाजिक विकास समिति संयोजक मनेजर महतो, महिला तथा बालबालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङ, शाखा उपप्रमुख विमला रानाभाट, साना किसान कृषि सहकारी संस्था खैरहनीका व्यवस्थापक चन्द्रबहादुर लामिछानेले सहजीकरण गर्नेछन् ।
मेयर चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने,स्थानीय शिक्षा अधिकारी राजु बानियाँ, सामाजिक विकास समिति संयोजक मनेजर महतो, प्रशासकीय अधिकृत दामोदार अधिकारी लगायतले उपस्थिति रहेको थियो ।








