‘पाठशाला CUG सेवा’ मा सहुलियत

काठमाडाैं । नेपाल टेलिकमले वितरण गरिरहेको ‘पाठशाला CUG सेवा’ सार्वजनिक विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुले सहुलित दरमा प्रयोग गर्न सक्ने गरी उपलब्ध हुने भएकाे छ ।

नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला CUG सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको हाे । महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला CUG सेवा’ वितरण गरिरहेको छ ।

यो अफरमा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला CUG सेवामा आबद्ध गर्न सकिने टेलिकमले जनाएकाे छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई CUG सेवा उपयोग गर्न सक्ने जनाएकाे छ ।

यस अन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूह (CUG) मा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा रु. ९९ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्दछ । यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा उपलब्ध हुनेछ । यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (https://learning.cehrd.edu.np) मा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जिबी डाटा उपलब्ध भएकोमा यसलाई बढाएर ८ जिबी डाटा उपलब्ध हुनेछ ।

त्यसैगरी समूहभित्र थप शुल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् छ । साथै, कुनैपनि समयमा जुनसुकै प्रयोजनका लागि १ जिबी डाटा र समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको टेलिकमका प्रवक्ता राजेश जाेशीले जानकारी दिए ।

विद्यालयले ‘पाठशाला CUG सिम’ मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्दछ । सो विवरण स्थानीय तहको सिफारिसका साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी शुल्क भुक्तानी गर्नुपर्दछ । त्यस पश्चात् सो ग्रुपमा आबद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत् पाठशाला CUG सेवाको जानकारी उपलब्ध रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया