‘सभापतिले हामीलाई असहयोग गर्नुभएको छैन’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो सभापतिबाट आफूहरुलाई कहिल्यै असहयोग नभएको बताएका छन् । ‘तपाईँहरुको सभापति प्रतिनिधि सभा विघटनको पक्षमा रहेको समाचारहरु बाहिरिँदै छन्, के त्यस्तो हो ?’ भन्ने मकालु खबरको जिज्ञासामा शर्माले भनेका छन्, ‘त्यस्तो होइन, उहाँ विपक्षमै हुनुहुन्छ ।’

यसैबीच प्रवक्ता शर्माले बाहिर समाचारमा जनाइएका कुराहरु सञ्चारमाध्यम आफैँले नै कथेर लेखेको हुनसक्ने बताए । शनिबार नै आफ्नो धारणासहित प्रदर्शनमा सहयोग गर्नको लागि अनुरोध गरिसकेको बताउँदै प्रवक्ता शर्माले भने, ‘उहाँले आफ्नो आधिकारिक धारणा हिजै विज्ञप्तिमार्फत् सार्वजनिक गरिसक्नुभएको छ । उहाँ प्रतिनिधि सभा विघटनविरुद्ध नै भएर पनि हामीलाई आवश्यक सर–सल्लाह निर्देशन दिइरहनुभएको छ ।’

त्यसपछि पुनः शुक्रबार बसेको पदाधिकारी बैठकमा तपाईँको सभापतिले ‘म नै प्रधानमन्त्री हुन्छु’ भनेर भन्नुभएको कुरा साँचो हो ? भनेर प्रवक्तासमक्ष सवाल राखिएको थियो । जहाँ प्रवक्ता शर्माले हाँस्दै भनेका थिए, ‘मैले त सुनिनँ, भन्नुभयो भनेर भन्नेलाई नै सोध्दा राम्रो होला यो प्रश्न ।’

यसअघि विभिन्न सञ्चारमाध्यमहरुले सभापति देउवा प्रतिनिधि सभा विघटनको पक्षमै रहेको भन्दै बुटवलको ज्योतिषीको चर्चा पुनः चुल्याएका थिए ।

सञ्चारमाध्यमहरुले गत शुक्रबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकमा देउवाको टकराव वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परेकोसमेत उल्लेख गरका थिए । प्रवक्ता शर्माले त्यसको समेत खण्डन गरेका छन् ।

 

प्रतिक्रिया