७ करोडको तटबन्ध र स्पर निर्माण

- ध्रुवराज खनाल
चितवन । चितवनको खैरहनी नगरपालिकामा झण्डै ७ करोड बराबरकाे तटबन्धन र स्पर निर्माणको काम भइरहेको छ । स्वीस सरकारको पूर्वी चितवन नदि नियन्त्रण तथा जिविकोपार्जन कार्यक्रम र खैरहनी नगरपालिकाको सयुक्त लगानीमा नगरको विभिन्न खोलाहरुमा तटबन्धन र स्पर निर्माणको काम भइरहेको हो ।
राप्ती नदिमा स्पर निर्माण भइरहेको छ भने अन्य खोलाहरुमा तटबन्धनको काम भइरहेको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले जानकारी दिए । खैरहनी ७ र ९ को खैरहनी दक्षिण सिमाना भएर वगेको पम्फा खोलामा १ करोड ८० लाख वरावरको तटबन्धनको काम भइरहेको छ । त्यस्तै बुढीराप्ती खोलाको गौचरनमा ८० लाख बराबरको काम भइरहेको मेयर चौधरीले बताए । बुढीराप्ती खोलाकै फसेर्नीमा ६० लाख, खैरहनी २ लदरा खोलामा ३९ लाख र लदरा खोला होलिल्याण्ड जाने बाटोमा ८० लाख बराबरको तटबन्धनको काम भइरहेको मेयर चौधरीले बताए ।

उता राप्ती नदिमा ४ वटा स्पर निर्माणको काम भइरहेको छ । त्यसका लागि झण्डै २ करोड रुपैया खर्चिँदै छ । पूर्वी चितवन नदि नियन्त्रण तथा जिविकोपार्जन कार्यक्रमको समायावधि सकिन लागेकाले अहिले युद्धस्तरमा काम भईरहेको मेयर चौधरीको भनाई छ । नदि तथा खोलाले कटान गरेर खेतीयोग्य जमिन क्षति हुने भएकाले ति खेतीयोग्य जमिनलाई जिविकोपार्जनसंग जोडेर तटबन्धनको काम गरिएको उनले बताए ।
पूर्वी चितवन नदि नियन्त्रण तथा जिविकोपार्जन कार्यक्रम अहिले दोश्रो चरणमा संचालन भईरहेको छ । दोश्रो चरणको कार्यक्रम संचालन भएको ७ वर्ष पुग्न लाग्यो । सो परियोजना अन्तर्गत पूर्वी चितवन नदि नियन्त्रण तथा जिविकोपार्जन कार्यक्रमको ६० प्रतिशत,खैरहनी नगरपालिकाको ३० प्रतिशत र उपभोक्ताको १० प्रतिशत साझेदारीमा काम भईरहेको छ । यो कार्यक्रमले खेतीयोग्य जमिन संरक्षणमा मद्यत पुगेको नगरपालिकाले जनाएको छ ।








