विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघ्‍यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड १ लाख नाघेको छ भने १७ लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८ करोड १ लाख ९४ हजार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १७ लाख ५६ हजार ९४७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ५ करोड ६४ लाख ६० हजार २३० जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ३८ हजार २६३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ९२ लाख ९ हजार ३६१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९८ हजार ३५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १९७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३७९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५१ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ३५० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड १ लाख ७९ हजार ८१८ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ७४ लाख ४८ हजार ५६० पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४८३ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ९० हजार ५१५ पुगेको छ ।

विश्वभरको कोरोना अपडेट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :- कोरोना अपडेट
प्रतिक्रिया